Sunday, November 15, 2026

आहा ! अमेरिका , आत्था ! अमेरिका

 आहा ! अमेरिका , आत्था ! अमेरिका 

-अविरल थापा

मेरिल्याण्डबाट भर्जिनियातर्फ जाँदै गर्दा मैले साथीलाई भनें नेपालको बाटोमा बाइक भएजस्तै यता त सबैको कारनै कार है  ? उनले हत्त न पत्त जवाफ फर्काइन के तिमीले यो कार भन्ठानेको ?यो त नाम्लो हो नाम्लो? यो नभई यहाँ जिन्दगीको भारी बोक्नै सकिन्न । काम पाउन र काम भ्याउन यो नभई धरै छैन । तिम्रो लागि कार होला हाम्रो लागि त नाम्लो हो बुझयौ ? उनको कुरा सुनेर म अक्क न बक्क परें ।  अमेरिकाले गर्न खोज्ने सबैलाई काम दिएको छ सुविधा दिएको छ र मज्जाले कुदाएको छ । जो समयमा कुदयो अघि बढयो जो कुदेन लत्रिरहन्छ । यहाँ कुददा कुददै उमेर खिइएको धेरैले पत्तौनै पाउँदैनन् । कुदयो ,सुत्यो ,उठयो फेरि कुदयो । यसरी कुददा कुददा र घर जाउँला भन्दाभन्दै बर्षौं वित्छ । कत्तिको गएपछि आउने कागजात हुन्न । कत्तिको ग्रीनकार्ड नवनाई के जानु भन्ने हुँदोरैछ । कत्तिको केही लाख नवोकी के जानु भन्ने हुने रैछ ।समय कुर्दाकुदैै अबेर भएको पत्तो नहुनेरैछ । अलि व्यवस्थित हुन्छु र घरवार गर्छु भन्दाभन्दै धेरैलाई जवानी खिईंदैगएको हेक्का हुन्नरैछ ।कत्तिको पति अमेरिका पत्नी नेपाल कत्ति पत्नी अमेरिका  पति नेपाल ।डाक्दैमा आउन नपाइन,े कागज बनाउँदा बनाउँदै दशकपनि लाग्दोरैछ । धेरैको एउटै कुरा थियो आउन त आइयो जान गार्हो रैछ ।घरि शीतल लाग्छ घरी पोल्छ अमेरिकाले !  

हालै दुई महिना अमेरिका बसाईकोे क्रममा मैले दुई दशकदेखि नभेटेका सहपाठीहरुदेखि लिएर नेपाली सिनेमाका नायक एवं मित्र राजवल्लभ कोइराला लगायत १४ बर्षपछि नेपाल फर्कन लागेका काठमाडौंका फोटोग्राफर महेश्वर श्रेष्ठसँगै बस्ने र खाने मौका पाएँ ।सामान्य काम गरिरहेकादेखि सिलिकन भ्यालीमा र राष्ट्रसंघको उच्च ओहदामादेखि लिएर  अमेरिकी संस्थाहरुको उच्च पदमा पुगेका नेपालीसम्म भलाकुसारी गर्न र नेपालीहरुको जिन्दगी नजिकबाट अवलोकन गर्न पाएँ ।  १५ राज्यहरुको भ्रमण ,कम्तीमा २५ देशका मिडियासम्वद्व विभिन्न तहका प्राध्यापकहरुदेखि लिएर हवाइट हाउसको अगाडिपटटिको पार्कमा ओबामाको छोरीलाई भेटन आएको भन्ने पागल प्रेमी लगायत कैयन अरु मानिसहरुसँग अन्तरक्रिया र सानिध्यमा पुग्ने अवसर पाएँ । एकै घरभित्र एउटै भान्सा प्रयोग गरेर हिन्दु ,मुस्लिम र यशु धर्म मान्ने फरक फरक देशका साथीहरुसँगै ६ हप्ता बस्ने दुर्लभ अवसर पनि जुर्यो । एक अर्काको कुरा सुन्ने ,फरकपनाको सम्मान गर्ने र समानताहरु साटने हो भने धर्म भन्ने कुरा समस्या हैन रहेछ भन्ने अनुभूत भयो । छालाको रंग कालो होस वा गोरो ,एसियाको होस वा अफ्रिकाको सबैको दिमागी क्षमता उत्तिकै सवल हुँदो रैछ । आम मानिसका जिन्दगीका समस्या र चाहनाहरु उस्तैनै हुँदारैछन । अमेरिकी भन्दैमा सवै राम्रा ,धनी र विदवान हुँदा रैनछन् र अफ्रिकी भन्दैमा सबै गँवार हुन्न रैछन भन्ने गम्भीर अनुभूति पनि भयो ।

एकदिन म नेपालीहरुको बनभोज कार्यक्रममा पनि गएँ । त्यहाँ चिनेका र धेरै अपरिचित नेपाली युवाहरुसँग रमाइलो भेट भयो ।तर अन्तरंग कुराकानीमा सबैको कथा उही हुन्थ्यो आएको यति भयो नेपाल गएको छैन। खासै केही गर्न सकिएको छैन । केही ठिकै छ राम्रो छ तर नेपालमा बसेजस्तो मज्जाचाहि छैन भन्थे । अमेरिकामा टन्न सुत्न पाउने र कुर्सीमा बसेर काम गर्न पाउने नेपाली जो छन् ती  भाग्यमानी हुन् । एकजना साथीलाई सोधें कति काम गर्छौ  सुत्नु पर्दैन ? उसले रमाईलो जवाफ फर्कायो जति सुत्नु नेपालमै सुतियो हेर यहाँ सुतेर के गर्ने हो ?घर आएपनि एक्लै बस्ने हो ,निद्रा लागिहाल्ने हैन । यहाँ बसे पैसा आउँछ त्यसको साटो मस्त थाकेर आयो,खायो, भुसुक्क निदायो । टन्टै साफ ।

  नेपालमा बसेर अमेरिकाबारे देखेको सपना र अमेरिका पुगेपछि भोग्नुपर्ने विपनामा धेरै अन्तर छ । नेपालमा सपना देख्दादेख्दै अमेरिका पुग्ने जो कोही त्यहाँ पुगेपछि झल्याँस्स व्युँझिन्छ । लाखौं खर्च गरेर दलाल मार्फत अमेरिका पुग्ने सपना देख्दै हिडेका नेपालीहरु बाटोमा अलपत्र परेको समाचार पढिरहँदा धेरै त  भ्रमनै बोकेर हिडेका होलान जस्तो लाग्छ । त्यहाँ पुगिनै हालेछन भनेपनि बाँकी यात्रा पनि सहजभने छैन । नेपालबाट जो कोही जाओस यदि कुनै पनि क्षेत्रमा व्यवसायिक सीप र दक्षता छैन भने नेपालमा पढेको प्रमाणपत्रको भरमा गतिलो काम पाउन खप्परमै लेखेर ल्याएको हुनपर्छ । नत्र भने ऐरे गएपनि भैरे गएपनि ग्याँस स्टेसन वा रेष्टुँरामा घन्टे काम थाल्नुको विकल्प हुँदैन । अमेरिकामा बसेपछि त्यहाँको नियम कानुन र व्यवस्थाभित्र नबसी कसैले धरै पाउँदैन । बाटोमा कतै ट्राफिक प्रहरी देखिन्नन तर केही गल्ती गरे हर्जानाको बिल घरमै आईपुग्छ । एकजना साथीले पिजा डेलिभरी गर्ने काम पाएकारैछन । एकदिन अलि चाँडोनै डेलिभरि गर्देछन् । भोलिपल्ट त घरमा पुलिसको प्रेमपत्र आईसकेछ । उता कानुन बलियो छ यता कानुनभन्दा मान्छे बलिया भए ,केही गल्ती गरे हामी सोर्सफोर्स लाउन फोन हान्न थालिहाल्छौं । अमेरिकामा हेर्दा सबै स्वतन्त्र छन् जस्तो लाग्छ तर सबैजना कतैबाट निगरानीमा छन् । अमेरिकाको सबैभन्दा राम्रो पक्ष भनेको आफूमा क्षमता हुने हो भने प्रगति गर्न कसैले रोक्न सक्दैन । जो कोही जहीं पुग्न सक्छ र जस्ले जतिपनि कमाउन सक्छ । लुकिछिपि केही गर्न कठीन छ तर कानुन मानेरै कर तिरेरै जो कोही धनी हुनसक्छ । उच्च पदमा पुग्नसक्छ । 

 म पढ्न गएको ओहायो विश्वविद्यालयका डा. युसुफ ७ वर्षमै पूर्ण प्राध्यापक भएछन् यसपालादेखि तर उनले जागिर खानेबेलामा अन्तर्वाता लिएकी चाहिं अझै सहप्राध्यापकनै रैछिन् । त्यहाँ कस्ले पहिला जागिर खायो वा को उमेरमा वरिष्ठ हो भनेर हेरिन्न । कस्ले के काम गर्यो कति योगदान गर्यो हेरिन्छ र त्यसको मुल्याँकन हुन्छनै । अमेरिकाको सायद अन्य पश्चिमा राष्ट्रको पनि विशेषता के भने उनीहरु सम्बोधन गर्दा सोझै नाम भन्छन् । कुनै विशेषण जोड्न वा डा.साप भन्न रुचाउँदारैनछन् । उनीहरु विद्यार्थीहरुसँग दुरी बढाउनेहैन हार्दिकता बढाउनेरैछन । साथीजस्तै व्यवहार गर्ने ,हात मिलाउने अकंमाल गर्ने सँगै खाने नाच्ने । विश्वविद्यालयका प्राध्यापकहरु हप्तौंसम्म हाम्रो लागि गाडी चलाएर आफैं हिंडे ,ख्याल ठटटा गरे । केही हामीलाई सिकाए केही हामीवाट सिके । नेपालमा भए कोट लगाएर त्यसैत्यसै गम्केर यो भएन र त्यो भएन भनेर हुँकार र अहं देखाउनेनै धेरै हुन्छन् । हामी आवरणमा व्यक्तित्व र आडम्वर देखाउँछौं ।उनीहरु व्यवहारवादी र खुला दिमाग र मन भएको मैले पाएँ । हामीले धेरै शास्त्रीय मान्यताहरु भत्काउन सकेकाछैनौं । अहंको यति अग्लो पर्खाल लगाएका छौंकि कुनदिन आफैंलाई किचेर मार्छ । अमेरिकामै छँदा डल्लास लगायत अन्य ठाउँमा अनेक गोली काण्डहरु भए । हिलारी र ट्रम्पका उत्तेजक भाषण र वाकयुद्ध साथै प्रहरी र काला वर्णका अमेरिकीहरुबीच रहेको मनोवैज्ञानिक त्रास र समस्याहरुको बारेमा गम्भीर बहसहरु गर्यौ । अमेरिकामा केही राज्यवाहेक पिस्टोल गोली बोकेर हिडन पाईन्छ । राती सवारी जाँच्दा लाईसेन्स निकाल्न पर्स भएको ठाउँमा हात लैजाँदा यदि चालक काला जातिको छ भने प्रहरी तर्सिन्छ । त्यहीका काला वर्णका प्राध्यापकले एकदिन भने म त प्रहरीले गाडी रोक्न निर्देशन दिएर गाडीसम्म आईपुग्ने बेलासम्ममा मेरो कागजात र लाईसेन्स निकालीसक्छु ताकि कुनै समस्या नआओस् । एक अर्कासँगको अत्यन्तै डरलाग्दो मनोवैज्ञानिक त्रास हुँदोरैछ काला अमेरिकी र प्रहरीवीच जसलाई न्युनिकरण गर्न दुवैले विश्वासको वातावरण निर्माण गर्दै जानुपर्ने हुन्छ ।  

 फेरि आउँ नेपालीकै कुरा तर्फ । अमेरिकाको विभिन्न राज्यमा धेरथोर नेपालीहरु पुगेकाछन् । जहाँ जहाँ म पुगें नेपालीहरु संगठित त भएका तर विभिन्न जात,धर्म,समुदाय,पार्टी ,जिल्ला,पेशा वा यस्तै यस्तै आधारमा मात्र । न्युओर्कमा त नेपालीका ५० भन्दाधेरै संघसंस्थाहरुरैछन् । जहाँ गएपनि राजनीति गनुपर्ने संस्थाको अध्यक्ष हुनुपर्ने रोगले नेपालीहरु ग्रस्त छन् । एकमात्र नेपाली संगठन भएर देशको प्रतिनिधित्व गर्दा जुन इज्जत र कुनै माग राख्दा त्यहींपनि पैरवी गर्न सजिलोनै पथ्र्योहोला । एकले अर्काको कुरा काटने र खुटटा तान्ने प्रवृति जता गएपनि उस्तै रहेछ । गफ धेरै गर्ने तर काम कम गरेर हल्ला धेरै गर्ने रोग उतापनि उस्तै देखियो । एनआरएनमा सबै धनीहरुमात्र छैनन् तर यो कालान्तरमा कतै धनीहरुको वाइन क्लवमामात्र हुने त हैन भन्ने खतरा पनि देखियो । 

एकदिन ज्याक्सन हाइटमै नेपालीकै अफिसमा थिएँ । त्यहाँ काम लिएका आएका एक नेपाली बाबु थिए र साथमा उनको छोरो जो त्यस्तै ६ वर्ष जतिको हुँदो हो अलि चकचक गर्दैथियो । उसको बाबु बेलाबेलामा एकछिन नचली बस त भन्दैथियो । छोरो जतिभनेपनि चल्न छोडेन । अत्ति भएपछि बाबुले हकार्यो तँलाई नचली बस भनेको सुनिनस् । त्यो सुनेपछि छोरोले बाबुलाई अंग्रजीमा डायलग हान्यो डयाड यु आर नट माइ बोश । त्यो सुनेर बाबु कालोनिलो भयो र अक्मकाउँदै भन्यो तँलाई मोरा !यस्तो भन्ने भईस ।  यो अमेरिकी शिक्षाको ठाडो असर हो । बुझनेलाई ईशारा काफी छ । यो कुरा बेलुका अर्को साथीलाई सुनाउँदा उसले देखेको अर्को घटना पनि सुनायो । कुरा के रैछभने अमेरिकाको एउटा स्कूलमा नेपाली बच्चो पढदोरैछ । त्यही स्कूलमा नेपाली सेविका पनि काम गर्दिरैछिन । नेपाली बालक भन्ने थाहा पाएर केही कुरा नेपालीमै गरिछन् । उसले सायद खुशी भएर घरमा आमालाई भनेछ । तर भोलिपल्ट आमाले के गरिछन् थाहा छ ? उनले स्कूलको प्रशासनमा गएर आईन्दा आफनो छोरासँग नेपालीमा कुरा गर्न नभन्नु भनेर गुनासो दर्ता गराएर आईछन् । धन्न उनको जागिर गएनछ ! हामी कुन मानसिकता लिएर प्रवासमा बाँचिरहेका छौं भन्ने यो ज्वलन्त उदाहरण हो । यस्ता अनेक किस्सा अरुपनि धेरै सुन्न र देख्न पाईयो । 

नेपालमा रहेका बाबुआमा वा आफन्त नातागोता साथीभाइले बुझनुपर्ने कुरा के हो भने अमेरिकामा टपटप डलर टिप्ने हैन । अधिकांसले ८÷१० घन्टा उभिएर खलखली पसिना बगाएपछि बल्ल केही आर्जन हुन्छ । त्यसको एक तिहाई कर तिर्दै सकिन्छ । एक तिहाई घरभाडामा जान्छ । बाँकी रहेको एक तिहाईले आफनो अन्य किनमेल र बच्यो भने नेपालमा पनि पठाउनुपर्छ । यहाँ बसेर आइफोन ल्याइदे र ऊ ल्याईदे,यो पठाईदे भन्न सजिलो हुन्छ तर उता त्यति जोहो गर्न डडाल्नो अररिनेगरि घोटिनुपर्छ । लुगा त्यसै सफा हुन्छ ठाउँ राम्रै छ फेसबुकमा हप्ताको एकचोटि रमाइलो गरेको फोटो सुकिलो र मुहार हँसिलो देख्दैमा यहाँ बसी बसी भावनात्मक शोषण गर्नु अत्याचार हो । अझ काम गर्दै पढन र खर्च जुटाउन झनै कठिन छ । यताबाट कस्तो छ भनेर सोध्दा ठिकै छ राम्रै छ भन्नु वाध्यतानै हो किनकी त्यहाँ पुगिसकेपछि दुख छ भन्ने रहर कसैलाई हुँदैन । यतावाट परिवारको दवाव ,त्यहाँको कामको चाप र आर्जनले जीवनस्तर उकास्न नसकेर मानसिक चाप धान्न नसक्दा डिप्रेशनमा गएका र आत्महत्यानै गरेका कैयन घटना पनि छन् । बेलुका कामबाट फर्किदा कमैको घरमा सुख र दुख साटने मानिस हुन्छन् । कतिका त जोडीको भेट पनि शुक्रवार बेलुकामात्र हुन्छ । सुविधा छ सुख छ तर कमै मानिसहरु खुशी छन् । 

अर्को कुरा अमेरिकाको हरेक ठाउँको भ्रमणमा चाहे संचारगृह ,म्युजियम वा अन्य पर्यटकीय क्षेत्र किन नहोस् अन्तिममा निस्कने  ढोकासँगै एउटा उपहार पसल हुन्थ्यो जहाँ त्यस स्थान विशेष झल्काउने उपहार सामग्रीहरु बेच्न राखिएको हुन्थ्यो र कसै न कसैले केही न केही किनिहाल्थ्यो । कुनै पनि चीजलाई कसरी बा्रन्डिगं गर्ने र व्यापार गर्नेभन्ने यो  गज्जवको नमूना थियो । अर्को लागेको कुरा भनेको सडक संजाल र विद्युत आपूर्ति हुने हो भने धेरै विकास आफसेआफ हुनेरैछन् । हरेक प्रयोजनका लागि विद्युतीय मेसिनहरु छन र फराकिला बाटोहरुमा हरदम तीव्र गतिमा काममा कुदेका छन् । हामीजस्तो रेल आउने रे भनेको सुन्दै रमाइलो लाग्ने मानिसलाई न्युओर्कको जमिनमुनी १०० वर्ष भन्दा अगाडि दुई तल्ले रेलको संजाल बनेको थियो भन्दा साँच्चै होला र भनेजस्तो लाग्छ ।हाम्रा अधिकांस नेताले विदेश घुमेर यो देखेकाछन् तीनलाई फर्कदा आफनो विमानस्थलकै हविगत देखेर लाज लाग्नुपर्ने हो । फालाफाल जलश्रोतबाट विजुली उत्पादन गर्नैपर्छ भन्ने चेत पलाउनुपर्ने हो । कम्तीमा काभ्रे,धादिङ र हेटौंडातर्फ रेल वा एक घन्टाभित्र राजधानी आइपुग्ने ग्यारेन्टी भएको र्दुत सार्वजनिक यातायातको  विकास गर्न सके काठमाडौंमा कोही गुम्सिएर बस्दैनथ्यो होला ,सहरीकरण विस्तार हुन्थ्यो। चार आना काठमाडौं किन्न कसैले जिन्दगीभरिको पसिना र तानाबाना बुन्दैनथियो होला । अरबौं तलवभत्ता सकेर यतिपनि गर्ने ल्याकत इच्छाशक्ति नभएका नेपालका नीति निर्माता र राजनीतिज्ञ भनाउँदाहरु वास्तवमै अपराधी हुन भन्ने वोध पटकपटक भईरहयो ।


यो देशमा टिक्न, बिक्न र उचित स्थान पाउन नसकेर जो जाँदै हुनुहुन्छ आवश्यक तयारी र सीप सिकेर जानु उचित हुन्छ । उतै पढेर अघि बढनेको भविष्य राम्रै छ । तर यहाँ रामै्र काम छँदाछँदै भएको सम्पत्ति बेचेर जानेहरु त्यहाँ पुगी शून्य धरातलबाट काम सुरुगर्नुपर्दा खङरङग पर्न सक्छन् । दलाललाई लाखौं खुवाएर जानखोज्नेहरुले त्यो पैसाले यहीं केही गरे चाँडै मालिक बन्न सकिनेछ । घुम्न जानेलाई त जे देखेपनि नयाँ र रमाईलो लाग्नेनै छ ,एउटै भ्रमणमा पूर्विय र पश्चिमा तटमा पुग्न सके फरक अनुभूति हुनेछ । फर्केर अनेक नयाँ काम गर्ने सोच आउनेछ। कसरी सिस्टममा देश चल्छ र जहाँपनि डेविट र के्रडिट कार्ड घोटेर देश कसरी चल्छ हेर्न चाहिं आप्रवासीहरुले भरिएको अमेरिका नमूना मुलुकनै हो । अमेरिकामा कर्म गरेर जति डलर कमाए पनि  पाइन्छ हरेक हप्ता खुल्ने चिठ्ठा किनेर भाग्य जाँच्न पनि पाइन्छ ।

एउटा कुराचाहिं बसुन्जेल रोचक लागिरहयो उता भएकाहरु यहाँसम्म आएर पनि फर्कने हो  र  भनेर पीर गर्थे यता भएकाहरु पनि उतै बस्ने हो र ! भनेर पीर गरिरहन्थे ।  

आहा !अमेरिका । आत्था !अमेरिका । 



यौनको पाखण्ड पुराण

 यौनको पाखण्ड पुराण

 — अविरल थापा

चाहे पश्चिमा समाज होस् वा पूर्विय यौन सवैको लागि चासोको विषय हो । यौन कर्मलाई हाम्रो समाजले जहिलेपनि आवरणमा घृणित शव्दको रुपमा तर पर्दापछाडि सक्रियतापूर्वक उपभोग गर्दै आएको  पाइन्छ । धर्मको नाममा शिवलिङ्ग र योनीको पूजा चाहिं श्रद्धापूर्वक गर्नु, मन्दिरमा देखिने टुँडालहरुमा कुँदिएका यौन आकृतिहरुले एकातिर समाजमा खुल्लारुपमा यौनको आराधना भईरहेको देखाउँछ भने अर्कोतिर यौनको विरोध गरेर यही समाजले पाखण्डी प्रवृति पनि देखाइरहेको छ ।  

यौन संसारभरिनै सर्वाधिक विवादास्पद विषय हो । कैयन विद्वानहरुले यस विषयमा प्रवचन र विचार दिईसके तर अन्तिम निचोड कसैले निकाल्न सकेको छैन । यौन दुष्कर्म हो कि सुकर्म हो ? वरदान हो कि अभिषाप हो ? यौन किन्न हुन्छ कि हुँदैन ?यौन सम्वन्ध राख्न प्रेमी वा वैधानिक जोडी नै चाहिन्छ कि पुरुष वा स्त्रीको मन मिले पुग्छ ? वृद्घ व्यक्तिमा पनि  यौन चाहना हुनु जायज हो कि हैन?

आखिर यौनलाई समाजमा किन यति जटिल विषय बनाईदै आइएको छ त?सार्वजनिक स्थलमा  हुने यौनजन्य क्रियाकलापलाई त समाज या कानुनले बन्देज लगाउँदै आएकै छ तर के उमेर पुगेका युवायुवतीले आपसी सहमतिमा बन्द कोठा भित्र पनि यौन सम्वन्ध राख्न पाउँदैनन् त ? किन प्रहरी प्रसासननै लागेर बन्द कोठाभित्र बसेका श्रीमान् श्रीमती, प्रेमि प्रेमिका या अन्य जोडीलाई आपराधीक काम भन्दै पक्राउ  गरिन्छ ? के यौन सम्बन्ध राख्नु अपराध हो ?के वेश्यावृति गर्नु र यौन सम्वन्ध राख्नु एउटै कुरा हो ? के यौन सम्पर्क राख्नपनि प्रहरीप्रसासनको वा पत्रकारहरुको स्वीकृति लिएर जानुपर्ने हो ? के प्रहरीलाई होटलहरुमा गएर जसलाई पनि मन लागी पक्राृउ गर्ने अधिकार छ ? के अव होटलमा समय बिताउन मनलाग्यो भने विवाहको प्रमाणपत्रनै बोकेर हिंडनुपर्ने हो? बेलाबखत समाचारहरुमा आएअनुसार कैयन विवाहित जोडीहरु समेत अनाहकमा समातिएका छन् र सामाजिक, मानसिक र मनोवैज्ञानिक हिंसाको सिकार भएकाछन् । यो कानुनको उपयोग हो, दूरुपयोग हो या शक्तिको तुजुग देखाइएको हो ? तारे होटलहरुमा प्राय प्रहरीले छापा मार्दैन किनकी त्यहाँ छापा मार्ने हैसियत प्रहरीले राख्न सक्दैन वा जरुरत ठान्दैन । 

जैविक विज्ञान अनुसार किशोरावस्थाको विकाससँगै हरेक मानिस यौनको लागि योग्य हुँदै जान्छ र किशोरावस्थाको अन्त्यसँगै ऊ शारिरीकरुपले यौन सम्वन्ध राख्न परिपक्व बन्छ । स्वस्थ मानिस र प्राणीमा यौन चाहना हुनु स्वाभाविक र प्राकृतिक कुरा पनि हो । यौनलाई दवाएर राख्दा यसले मनोवैज्ञानिक असर पार्ने र कालान्तरमा यौन अपराधसम्म पुग्न सक्ने पनि अनुसन्धानहरुले देखाएको छ । कतै समाजमा बढदै गएको बलात्कारजन्य अपराधमा यौन कुण्ठाको भूमिका त छैन ?गम्भीर विश्लेषण गर्नुुपर्ने बेला भएको छ ।  हाम्रो समाजमा यौनलाई जहिलेपनि विवाहसँग जोडेर हेर्ने गरिन्छ । के साँच्चै यौन सम्बन्ध विवाह पछि मात्र राख्नहुने हो त ?यौनलाई विवाहसँग किन जोडिएको होला? कुनै बेला थियो पहिला जव गर्भ निरोधक अस्थायी साधनको आविष्कार या प्रचलन थिएन त्यसबेला विवाह पहिला गरिने यौन सम्वन्धले गर्भ रहेको अवस्थामा आइपर्ने झन्झट र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने असरलाई मूल्याकंन गर्दै त्यसो भनिएको हो भन्न सकिन्छ । तर आज विज्ञानले धेरै फड्को मारिसकेको छ । यौन अव परिवार र समाजको नियन्त्रणमा छैन, यसलाई मानिसहरुले व्यक्तिगत अधिकारको रुपमा लिन थालिसकेका छन् । 

आजकल हातहातमा स्र्माट फोन र ईन्टरनेटको सुलभताले यौनजन्य सामग्री हेर्न र पढ्न कसैले कसैलाई नियन्त्रण लगाउन सक्दैन । अब अभिभावकहरुले पनि वयस्क छोराछोरीलाई यौन सम्बन्ध राख्नुहुँदैन भन्नु भन्दापनि बलात्कार चाहि गर्नुहुँदैन तर राख्नैपरे कसरी सुरक्षित यौन सम्पर्क राख्ने ,यौन चाहना पूर्ति गर्ने वैकल्पिक उपायहरु केके हुन्छन् भनेर किशोरावस्थादेखि नै सिकाउनु जरुरी छ । युवायुवतीले मनपरेपछि यौन सम्वन्ध राख्नु सामान्य भइसकेको छ । त्यसैले बेलैमा पाखण्ड छोडेर यौन शिक्षा दिन सके राम्रो हुनेछ ।  के यस प्राकृतिक कुरालाई कानुनका दफा या समाजका नकारात्मक आँखाले रोक्न सक्छ त? यसलाई कानुन लगाएर रोक्छु भन्नु मूखर्ता होे किनकी खाने मुखलाई जुँगाले छेक्न सक्दैन ।

उमेर पुगेका युवाले आपसी सहमतिमा यौन सम्वन्ध राख्न पाउनु उनीहरुकोे नैसर्गिक व्यक्तिगत अधिकार हो  । यसलाई अपराध देख्नु समाज, प्रहरी र कानुनको दिवालियापन र पाखण्ड  बाहेक केही हैन । यसको साटो राज्यले यौन कर्मलाई अनुशासित र मर्यादित बनाउन आवश्यक कानुन बनाउन बहस चलाउनु र यौन अपराध रोक्न चेतना जगाउने सामग्री प्रकाशन एवं प्रसारण गर्नु उचित हुनेछ । पाखण्ड देखाउन छोडेर खुलेर यौनका कुरा गर्ने वातावरण निर्माण गरौं,समाजमा यौनको उचित व्यवस्थापन गर्ने मार्ग खोजौं ,यौनरोग र समस्यावारे बारे चेतना जगाऊँ । यौनलाई कसरी दमन गर्ने हैन कसरी व्यवस्थापन गर्ने भनेर शिक्षा फैलाऊँ जसकारण यौनसँग सम्वन्धित अपराध र घटनामा पनि कमी आओस् । 










  


म तिमीलाई प्रेम गर्छु!

 म तिमीलाई प्रेम गर्छु!

–अविरल थापा


प्रिय मनमाया,

  तिमी जस्तै यो संसारका करोडौं आत्माहरु प्रेम पाउन तड्पिरहेका छन् र भविष्यमा पनि तड्पिनेनै छन् । मान्छेलाई किन अरुको माया लाग्छ ? मान्छे किन अर्कोले प्रेम गरेन भनेर विरक्तिएर हिंडछ ?के मान्छे अरुको प्रेम विना एक्लै जिउन सक्दैन ?मान्छेले आफैले आफैलाई गर्नुपर्ने धेरै प्रश्नहरु यो संसारमा आदिम कालदेखि जस्ताको त्यस्तै छ । फेरि यो संसारका  अधिकांश प्रेमीहरुलाई आफनो प्रेममा शंका छ,आफनो प्रेमीमा शंका छ । तर प्रेम गरेको नाटक गरेर र प्रेम भएको भ्रम पालेर जीवन बिताउनु सबै प्रेमीहरुको नियति पनि हो । 

तिमीले जस्तै हरेक प्रेमीहरुले बारम्बार “म तिमीलाई प्रेम गर्छु”भनिरहन्छन् र तिमीले मलाई गरेजस्तै प्रत्येक प्रेमीले “के तिमी पनि मलाई उत्तिकै प्रेम गर्छौ” भनेर प्रश्न गरिरहन्छन् । सोध्न सजिलो छ तर यो एउटा जटिल प्रश्न हो मनमाया । मुखले जति माया गर्छु भनेपनि ,नौरंगी शव्दहरुले सजाएपनि यदि तिमीलाई मायाको आभाष भएकै छैन भने तिम्रो प्रेम त पलाँसको फुल जस्तो भयो हेर्दा सुन्दर तर वास्नाविहीन ।फेरि फिर्ता पाउँछु भन्ने आशमा तिमी पनि अरुलाई प्रेम दिईराखेकी छौ भने त्यो पनि त कहाँ प्रेम भयो र ? हामी सबै प्रेम कम र व्यापार बढी गर्छौं । 

मनमाया, तिमीलाई जस्तै यहाँ हरेक प्रेमीहरुको मनमा आफ्नो प्रेम टुट्ला भन्ने अव्यक्त भय बाँचिरहेको हुन्छ । हाम्रो प्रेम कति कमजोर छ है ! जो छुट्ला र टुट्ला भन्ने आशंका हरदिन पालेरै पनि  प्रेम गर्न अभिसप्त छौं । त्यसैगरि अरुले प्रेममा भाँजो हाल्देलान् भन्ने डर पनि उत्तिकै छ । वास्तवमा भन्ने हो भने यहाँ जो आफूलाईे प्रेमी भन्छन् उनीहरु विश्वस्त नै छैनन् कि उनीहरु एक अर्कालाई साँच्चैको प्रेम गर्छन् भन्ने कुरामा । प्रेम गर्ने कुरा हो कि प्रेम हुने कुरा हो धेरैले छुटयाउन सकेका छैनन् । बजारमा प्रेम किन्न र प्रेमी खोज्दै हिंडने दुखी आत्माहरु यत्रतत्र भेटिन्छन् । प्रेमी जोगाउन सक्नु यो वैश्य युगको ठूलो चुनौती हो र जोगाउन धेरैलाई धौ धौ छ । प्रेममा परेको मानिसले त स्वतन्त्रताको अनुभव गर्नुपर्ने हो । परमानन्दको अनुभूति गर्नुपर्ने हो तर किन हामीलाई प्रेममा परेपछि पिंजडामा परेको जस्तो लाग्छ । किन सदैव आफू कसैको निगरानीमा छु ,कसैको नियन्त्रणमा छु जस्तो लाग्छ । केही समय वा केही दिन आफ्नो प्रेमी ओझेल पर्नासाथ किन हाम्रो प्रेम वा विश्वास एकैचोटि डगमगाउन थाल्छ । किन शंका वा प्रश्न मनमा उव्जिन्छन् कि कतै प्रेम सक्कियो वा प्रेमी अन्तै सल्कियो कि भनेर । हामी प्रेमी कम दास वा दासी बढी बनाउन खोज्छौं । प्रेम दिएको वहानामा स्वार्थको परिपूर्ति गर्छौं त्यसैले हिसावकिताव अलिकति तलमाथि हुनासाथ हाम्रो प्रेमको जग हल्लिन्छ । 


हामी सबै प्रेम दिन हैन लिन मात्र खोज्छौं । आफु दिन सक्दैनौं तर अरुले माया गरेन प्रेम दिएन भनेर गुनासो चाहिं बारम्बार गरिरहन्छौं । हामी सबै प्रेमका एकलकाटे भोको छौं । हामी सबैलाई प्रेम र प्रेमी चाहिएको छ तर आफू अनुकुल आफ्नो काबुभित्रको ।


तिमी बारबार सोध्छयौ “ तिमीलाई मेरो माया कति लाग्छ भनन?” सुन मनमाया,मैले हिसावकिताव गरेर कहिल्यै तिमीलाई माया गरिन र मुख फोरेर आजसम्म तिमीलाई माया गर्छु पनि भनिन तर मैले माया गरें या गरिन त्यो तिमीले अनुभूत गर्ने कुरा हो । मलाई अनेक विशेषण र अलंकार हालेर र कुनै यन्त्र वा फित्ताले नापि नापि माया गर्न कहिल्यै आएन । म हिसावमा सार्है कमजोर छु त्यसैले कति माया गर्छु भनेर ठयाक्कै कहिल्यै भन्नै सक्दिन । तिम्रो अपेक्षाजति मैले माया दिन सकेकोजस्तो लाग्दैन भने माफ गर्नु ।मिठा र चिल्ला कुरा गरि वायुपंखी सपना देखाई देखावटी प्रेमको चास्नीमा तिमीलाई डुवाउन मलाई कहिल्यै मन लागेन । तिम्रा पनि कमजोरीहरु छन् र मेरा पनि जसलाई स्विकारेर र सकेको सुधार गर्र्र्दै अघि बढनुको विकल्प छैन । प्रेमको गन्तव्य विवाह हो भनेर मैले कहिल्यै लिईन र लिनेपनि छैन न त विवाह प्रेमको सुरुवात नै हो । विवाह त सामाजिक कर्मकाण्ड सिवाय केही हैन । म चाहन्छु यदि हामी विच प्रेम छ भने त्यो सँधै बाँच्नेछ चाहे हाम्रो अरु कसैसँग विवाह किन नहोस् । म कहिल्यै तिमीलाई दोष दिनेछैन र तिम्रा बारे अफवाह फैलाएर हिंडने छैन । 

मनमाया जुनदिन मलाई लागेको थियो कि हामी बिच प्रेम भयो त्यही दिन मैले मुक्तिको महसुस गरेको थिएँ । भौतिक रुपले तिमी सँधै साथै भएपनि नभएपनि तिम्रो प्रेमको अमृत मेरो हृदयबाट रसाईरहन्छ र त्यही पिएर म उर्जावान भएको अनुभव गरिरहन्छु । तिम्रो कल्पनामा रमेरै यो जुनी बिताउन सक्छु जस्तो लाग्छ ।प्रेम गर्छु भन्नेहरु आँखा अगाडि आईरहन्छन् र अल्झाईरहन्छन् र बेलाबखत पन्छाउन मलाई समय लाग्छ तर म बारबार तिमीतर्फ नै आईरहेको हुन्छु । म आईपुग्न केही बेर लाग्दैमा तिमी आत्तिन्छयौ । मलाई लाग्छ तिम्रो त्यो अत्ताईमै प्रेम छ । 

 तिमीलाई मैले स्वतन्त्र छोडिदिएको छु । जति बेला मन लाग्छ आऊ,बस्न मन लाग्छ बस,जान मन लाग्छ जाऊ मेरो हृदयको द्वार जुग जुगसम्म तिम्रो लागि उघारै रहनेछ । न पाउने अभिप्सा छ न गुमाउने भय छ किनकि म तिमीलाई प्रेम गर्छु ।

    


तँ, तिमी, तपाईं ,हजुर !


तँ, तिमी, तपाईं ,हजुर !

-अविरल थापा

मान्छे जिन्दगीको कालखण्डमा अनेक मानिसहरुसँग नजिकिन्छ र टाढिन्छ । एकफेर भेटिएको कोही जिन्दगीभरि सम्पर्कमा भइरहन्छन् कोही बेलाबेलामा झुल्किन्छन् त कोही वर्षौंसम्म पनि भेटिन्नन् । अरबौं मानिसहरु भएको यो दुनियाँमा कसैलाई भेटनु कसैसँग बोल्नु सँगै बसेर खानु घुम्ननै अनौठो संयोग हो । यो दुनियाँमा विना कुनै अर्थ र कारण कसैसँग भेटनै हुँदैन पहिलाको वा भविष्यको कुनै घटनासँग जुइनो गाँसिएको हुन्छ भनिन्छ । कहिले कामको सिलसिलामा कहिले यात्रामा परिचयको आदानप्रदान हुन्छ । कसैसँग पहिलो भेटमै धेरै नजिक भईन्छ कसैसँग वर्षौ गफ गर्दपनि निकटताको आभाष हुन्न ।

प्रायसँग हजुर तपाईबाट सम्वन्धको सुरुवात हुन्छ कसैसँग तिमी तिमीवाट त विरलैसँग तँ तँ बाट हुन्छ । प्राय औपचारिकताबाट सुरु भएर अनौपचारिकतामा पुग्छ । कोही एक घन्टामै घनिष्ठ मित्र बन्छन् कोही जुनीभरि बन्दैनन् । धेरैजनासँगको सम्वन्ध न अघि बढछ न पछि हटछ । आफनै साथी बरु त्यति नजिकको लाग्दैन तर उसले चिनाईदिएको नयाँ साथी ऊ भन्दा धेरै निकट हुनसक्छ । कहिलेकांही हामी टाढा हुँदा आफनो नजिकको साथीको कुरा कोही नयाँ साथीलाई भनिराख्छौं तर उसँग प्रत्यक्ष भेटेकै हुँदैन तर जव भेटिन्छ लाग्छ कति लामो चिनाजानी छ त्यस्तो बेला एकैचोटी के छ यार र तिमी तिमीबाटै सम्वन्ध सुरु हुन्छ । कसको मनको तार कोसँग कहाँ कतिखेर जोडिन्छ कसैलाई थाहा हुन्न । एउटालाई ठिस लाग्ने मान्छे अर्कोलाई अदभूत लाग्छ एउटालाई घमन्डी लाग्ने अर्कोलाई प्रष्ट विचारको लाग्छ । मानिसको रुचि पृष्ठभूमि अध्ययन वैचारिक धरातल संस्कार लगायत अनेक कुराको महत्वपूर्ण भूमिका हुन्छ । कहिलेकांही दुई विपरीत धारका मानिसको घनिष्ठ सम्वन्ध कसरी बनेको होला भनेर अचम्म लाग्छ । को नयाँ चिनजानको हो वा कुन नातासम्वन्धको हो त्यसले पनि सम्वोधनलाई निर्धारित गर्छ । सम्वोधनमा मानिसहरुवीचको दुरी र आत्मियता पनि झल्किन्छ । एउटै उमेर समूहमा पनि जसलाई एउटाले तँ भन्छु अर्कोले तिमी भन्छ उसैलाई अर्कोले तपाईं भन्छ फेरि अर्कोले  हजुर भन्छ ।  जिन्दगीको कुन मोडमा कोसँग कहाँ कसरी भेट भएको थियो त्यसले धेरै माने राख्छ ।

आफूले कत्रो सम्मान गरेर तपाई हजुर भनिराखेकोलाई आफनै अर्को साथीले के छ यार तिम्रो खवर वा के छ यार तेरो खवर भनिदिन्छ । पछि गएर ल अव तिमी तिमीनै भनौं न त पनि भनिन्छ । सम्वन्धमा धेरैपटक उमेर वा नाता पनि गौण हुन्छ । भावना वा मित्रताको कसीले पेशा वा पदले पनि सम्वोधनलाई असर गर्छ । कसैले कसैलाई तँ भनेको देख्दा हेप्या जस्तो लाग्छ कसैलाई कति माया गरेको जस्तो लाग्छ ।हाम्रो समाजमा श्रीमानलाई तिमी भनेको सुन्दा आदर नगरेको जस्तो लाग्छ तर श्रीमतीलाई सजिलै तिमी भन्ने पुरुषवादी अहं पनि उत्तिकै छ ।

। ठूलाबडा मानिस तँतँ र तिमी तिमी गरेर बोलेको सुन्न कम्ता मज्जा आउन्न । किशोरावस्थामा दाइ दिदी भनेर पछि लाग्नेले युवा भएपछि कुनै दिन फयाटट यार ,तिमी ,जी पनि भनिदिन्छन् । कतिलाई अव म पनि उजस्तै उत्रै भएँ भनेर पनि समान हुन खोज्छन् र विगत विर्सन्छन् । जसले तँ तँ र म म गरेर बोल्छन् कि त उनीहरु एकदम नजिक छन् वा उमेर वा सम्वन्धले साना ठूला छन् भनेर बुझिन्छ । तिमी तिमीले समकालिक हुन् भनेर बुझाउँछ भने तपाईले आदरको भाव र हजुरले उच्च आदर जनाउँछ । सासुले बुहारीलाई हजुर तपाई भनिन् भने व्यंग्य हानेको मानिन्छ । प्रेमीहरु चाहिं आवश्यकता र मनोभाव अनुसार तँ तिमी तपाई हजुर सबै एकैचोटि  वा फरक फरक समयमा पनि प्रयोग गर्छन् ।

बाटोमा वा यात्रामा वा नयाँ चिनजानमा कसलाई दाइ दिदी भन्ने वा दिदी बहिनी भन्ने दुविधा पनि भइरन्छ । सबैको एकफेर उमेर आउँछ आफुलाई दाइ वा दिदी भनिदिए हुन्थ्यो पछि फेरि भाइ वा बहिनी भनिदिए हुन्थ्यो । बसमा यात्रा गर्दा कुनै युवतीलाई खलासीले अलि उता सर्नुस त आन्टी भनिदियो भने उसले गाली खाने सम्भावना धेरै हुन्छ । कोही दिदी भने रिसाउँछन् कोही बहिनी भने रिसाउँछन् । कसलाई कतिवेला के भनेर सम्वोधन गर्ने नाप्न कठिननै हुन्छ । कहिलेकांही ठूलो उमेरकैले पनि के छ दाइ भनिदिन्छ ,के छ दिदी भनिदिन्छ । त्यसैले यो दाइ दिदी भनेको सम्बोधन गर्ने पद वा वहाना हो जस्तो लाग्छ ।सहपाठी वा सहकर्मी भएपनि कसैको चाहिं मलाई सवैले दाइ नै भन्नुपर्छ दिदीनै भन्नुपर्छ भन्ने अहं पनि हुन्छ । कहिलेकांही सम्वन्धमा समानता कायम राख्न दुवैले दुवैलाई दाइ दाइ भाइ भाइ पनि भन्छन् । मान्छेलाई न सानो हुन मन लाग्छ न बुढो हुन मनलाग्छ । मान्छे बडो अप्ठेरो प्राणी हो । कसको दिमागमा कतिवेला के सनक चढिरहेको हुन्छ भन्नै सकिन्न । घरमै पनि कसैले आमाबुवालाई तपाई हजुर भन्छन् कसैले तँ तिमी पनि भन्छन् । हेपेर भनिएको वाहेक सबै सम्बोधनमा आत्मियता हुन्छ । अरुले सुन्दा अप्ठेरो लाग्छ तर उनीहरु रमाईरहेका हुन्छन् । सानोमा काका फूपुहरु सानीआमाले दाइ भाउजु दिदी भनेको सुनेर आमालाई भाउजु दिदी र बुवालाई दाइ भिनाजु भनेर सम्वोधन गर्ने पनि धेरै हुन्छन् । 

कसलाई  दाइ भनियो कसलाई दिदी भनियो वा कसलाई तँ तिमी तपाईं हजुर भनियो भन्दापनि कुन प्रसंग भाव र अर्थमा भनियो त्यसले गहिरो प्रभाव पर्छ ।  सम्वोधनमा प्रेम र आत्मियता भए जस्ले जस्लाई जे भनेपनि फरक पर्दैन ।  



राष्ट्रियता ??

 राष्ट्रियता ?? 

-अविरल थापा


यो शव्दको न परिभाषा दिन सजिलो छ न व्याख्या गर्न सजिलो छ न बुझन सजिलो छ न बुझाउननै । यो कुनै ठोस कुरा हो वा एक अनुभूति ? खानेकुरामा हुन्छ कि लाउने कुरामा हुन्छ वा गर्ने काममा हुन्छ ? कसैले यसो गरेमात्र राष्ट्रवादी वा राष्ट्रियता जोगिन्छ भनेर किटान गर्न सक्दैन । सरलरुपमा भन्नुपर्दा जव आफनो देशले कुनै खेल खेल्दा जनताहरु एकजुट भएर जितोस् भनेर कामना गर्छन,सीमाना मिचिँदा मन दुखाउँछन् ,कुनै नेपालीले कतै गएर केही राम्रो काम गर्दा यो मेरो देशको भनेर गर्व गर्छन सायद यस्तै यस्तै होला राष्ट्रियता भन्ने कुरा ।

के यतिले मात्र राष्ट्रियता जोगिन्छ त ?झण्डा बोकेर वा ओढेर हिँडदैमा  , छिमेकी देशलाई गाली गर्दैमा , नेपाली पोसाक लाएर , नेपाली खाना खाएर , नेपाली गीत गाएर आदि इत्यादि के गरिराख्यो भने जोगिन्छ ? के हो राष्ट्रियता ? देशमा बसेर मात्र राष्ट्रवादी भईन्छ कि विदेशमा बसेर पनि भईन्छ ? राष्टियताको सिमाना जमिनमा हुन्छ कि हृदयमा ? कहाँनेर हुन्छ ? कसरी बन्छ मुलुक ? कसरी जोगिन्छ देश ?पुर्खाको विरासत मात्र बोक्ने कि आफनो वेग्लै इतिहास पनि रच्ने ? खुकुरीको गाथा मात्र गाउने कि विकासको कथा पनि लेख्ने ? रगतले मात्र पोत्ने कि कलमको मसीले पनि लेख्ने ? हामी के मा चुक्यौं ? पहिला कहिल्यै झुकेनौं भनेर हिडिराख्ने कि अब शिर ठाडो पारेर हिंडन योग्य पनि बन्ने ?खोक्रो र बोक्रो राष्ट्रवादको नारा लाएर  र अरुको मात्र बुइ चढेर अग्लो हुने सपना कति दिन देख्ने ? अरु कसैले बनाइदेला र समृद्ध हांैला भनेर कहिलेसम्म कुर्ने ? २१ औ शताव्दीमा आएरपनि सिमानाको लागि कति रगत तताईराख्ने ? आफनो खुटटामा उभिन हामीलाई कस्ले रोक्यो ?यो देश बन्न नसक्नुमा नेताको कति दोष र जनताको भागमा कति पर्यो ? हाम्रो संस्कृतिमाथि भइरहेको आक्रमण र हस्तक्षेप रोक्न हामीले चाहिँ के प्रयास गर्यौं ?।वर्षको एकदिन टुँडिखेलमा झयाली पिटेर तमाशा देखाउँदैमा के हाम्रो भेषभुषा र सँस्कृतिको जगेर्ना हुन्छ ? जुनदिन आफनो धर्मको आफनो जातको चाडपर्वमा अर्को धर्म ,सँस्कृति ,पर्व आदि मान्ने  छिमेकीको घरमा पनि निम्तो पुग्छ एकआपसमा मिलेर मनाउँछौं ,हाँसखेल गर्छौ त्योदिन बल्ल जोगिएला । ठूलो हदयले एकअर्काको अस्तित्व किन न स्विकार्ने ?

 हामीलाई आयातित सँस्कृति मनाउन पाउँदा गर्व लाग्छ ,पहिरन लाउनपाउँदा शान लाग्छ । आफनो पहिरन लगाउन लाज लाग्छ । आफना उत्पादनहरुलाई हेला गर्छौ । हाँडीको मकै भटमास भुटेर खान लाज लाग्छ । मम ,बर्गर र पिज्जा खान लाम लाग्छौं । हाम्रो जिब्रो किन यस्तो सौखिन भयो? लोकगीत गाउन लाज लाग्छ । ढिडो खान सरम लाग्छ । रत्यौली नाच्न सरम लाग्छ । मादल बजाउन सरम लाग्छ । सारंगी रेटन सरम लाग्छ । आमाबुवा भन्दा पाखे भइन्छ । आफनो भाषा विगारेर अंग्रेजी बोल्दा आधुनिक लाग्छ । तोतेबोली बोल्ने छोराछोरीले स्कूल पठाएको महिना दिन नपुग्दै अंगे्रजी बोल्न थाले नाक फुलाउँछौ । आलु जमिनमुनी फल्छ कि रुखमा सिकाउन र देखाउन जरुरत ठान्दैनौ । अरुको देखासिकी गरेर आफूलाई सभ्य देखाउन मन लाग्छ  । हामीलाई हलो काटेर मुग्रो बनाउँदैछौ हेक्का छैन । पुर्खाको नासो मासिँदै छ होश छैन । एकदिन हामी न हामी जस्तो देखिन्छौं न अरुजस्तो देखिन्छौं त्यतिबेला बल्ल आफनो अस्तित्वको चेत आउनेछ तव ज्या सबै सकिएछ त भन्नु बाहेक केही विकल्प रहनेछैन । आजको विश्वमा दास बनाउने भनेको साँस्कृतिक आक्रमण गरेर हो बजारीकरण गरेर हो खै हामीले बुझेको ? हामी आधुनिक हुने बहानामा नक्कली छाला ओढेर आफनो पहिचान छोप्दैछौं । 

कति कुरा भत्काउँदैछौं । कति कुरा वेवास्ता गर्दैछौं । आफूसँग कस्तुरी भएको चेतना छैन कहाँबाट वास्ना आयो भनेर अन्त अन्त सुँघेर बरालिदैछौं देश सिमानाभित्र हैन आत्मामा हुन्छ । आफनो धरातल भुलेर आकाशमा उडदैछौ । इतिहासको प्राचिन ऐनामा देखिने पुर्खाको अनुहार सम्झेर राष्टियता कतिदिन टिकाईराख्ने ? हामी नेपाली जस्तो देखिनै छोडिसक्यांै । बलभद्र र भक्ति थापाको नाममात्र लिएर अवको राष्टियता जोगिन्न । खुकुरी र पुर्खाको वीरताको दन्त्य कथा कति गाउने ? खै हामीले नयाँ वीरताको गीत लेखेर भावी सन्ततिलाई सुनाउन सकेको ? नयाँ नयाँ अक्टरलोनी र जिलेस्पीहरुले दिनप्रतिदिन हामीलाई आक्रमण गरिराखेको छन् खै हामीले प्रतिकार गरेको ? देशभित्र बसेर के गर्यौं बाहिर गएर के गर्यौ ?  खै हामीले लडेको ?युद्धको स्वरुप फेरिएको छ । हतियार फेरिएको छ । पहिला जमिनबाट प्रहार हुन्थ्यो अहिले वायुमण्डल र अन्तरिक्षबाट हुन्छ । हामीलाई आधुनिकताको ईन्जेक्सन हालेर लठठ बनाइएको छ र नशामा मदहोस भईरहेछौं । आफू केही नगर्ने जेपरेपनि अरुसँग लम्पसार पर्न जाने अनि हेपे भनेर चित्त दुखाएर जोरी खोजेर हुन्छ ?एकदिन चिर निद्राबाट झल्याँस्स व्यूझिनेछौ तर धेरै अवेर भईसकेको हुनेछ ।  नयाँ संविधानमा किन कसैले लेखौं भनेर भन्न सकेन कम्तिमा हप्ताको एकदिन भएपनि आफनो संस्कृति अनुसारको पहिरन लगाएर कार्यालय जाउँ, विद्यालय जाऊँ,बाजागाजा बजाउन सिकाऊँ,गीत गाउन सिकाउँ।  ताकि सन्ततिले पनि पहिचान नभूलुन । पछिसम्म जोगाऊन् । 

यो देशलाई पुग्ने बिजुली निकाल्ने ल्याकत के यहाँका लगानीकर्ताको छैन र? कसले दिइरहेको छैन काम गर्न ? देशको जमिन बाँझो राखेर आयात गर्नुपर्ने अवस्था किन आयो ? आफना नागरिक खाडीमा निर्यात गरेर तिनका रगत पसिनाले अर्थतन्त्र धान्नुपर्ने अवस्था किन आयो ? हामीले गतिलो नेता जन्माउन र चिन्न किन सकेनौं ? बेलैमा फेर्न किन सकेनौं ? आत्मनिर्भर हुने बाटो किन रोजेनौ ? कसले रोक्यो किन पहिचान गरेनौ ? किन विरोध गरेनौं ?

 एकफेर सबैले मुटुमा हात राखेर सोचौं हामी कहाँनेर चुक्यौं,हामी कहाँनेर झुक्यौं ?  

प्रकाशित असोज २२,२०७२


अरुले के भन्लान् ?

 अरुले के भन्लान् ?

=अविरल थापा


मानिस एक स्वतन्त्र प्राणी हो । त्यसैगरि मानिस एक सामाजिक प्राणी पनि हो । फेरि जसले जतिसुकै स्वतन्त्र छु भनेपनि घर र समाजको चौघेरामा मानिस बाँधिएकै हुन्छ । न घर समाज त्याग्न सक्छ न पूर्णरुपमा रमाउननै सक्छ । व्यक्तिगतरुपमा मानिसका अनेक इच्छा चाहना र रहरहरु हुन्छन् तर घरसमाजको वन्धन र लोकाचारले त्यसलाई पलपल तिलाञजली दिन वाध्य हुन्छ । मानिसलाई पहिलादेखि दिमागमा परेको वा पारिएको छाप मेटन समय लाग्छ नै । पहिलेदेखिको रितीथिती चालचलन चटक्कै छोडिहाल्ने हिम्मत जोकसैको हुँदैन । नयाँ नयाँ कुराको देखासिकी गर्ने ,अवलम्वन गर्ने मन सवैको हुन्छ तर अरुले के भन्लान् भनेर गर्न चाहिँ मानिस हिच्कििचाईरहेको हुन्छ । वावु वाजेदेखि चलिआएको चलन ,संस्कार भनेर कति वाहियात कुरामा पनि हामी अडिइराखेका हुन्छौं । 

जात भात भनेको केही हैन भनेर एकातिर भन्छौं भने अर्कोतिर आफना छोराछोरीले अन्तर जातीय विवाह गर्छु भन्दा त्यसो भन्दैमा हुन्छ अरुले के भन्लान् सोच त ? बाबुबाजेको इज्जत कता जाला?तँ आफैं सोच त समाजमा कसरी हिँडने भोलिदेखि ।  नानाथरि कुरा निस्कन्छन् । चारजनाले के भन्लान् भनेर हामी आफनो स्वतन्त्रता र खुशी लत्याउँछौं । दुनियाँको मुख केहीगरि पनि थुन्न सकिदैन । अरुको आलोचना गरेर आफू ठूलो राम्रो हुने समाजको चरित्रनै हो । मानिसले एकदुईदिन कुरै नकाटने त हैनन तर हामी यसतो आभामण्डल बनाउँछौ कि त्यसपश्चात त हामी असामाजिक नै बन्छौं । हाम्रो मनमा टाँगिएको भ्रमको पर्दाले आफनो सुन्दर संसारलाई सँधै छेक्छौं । 

एसएलसीमा राम्रो अंक ल्याएका छोराछोरीले आफूले चाहेको विषय पढ्न पाउँदैनन् । सबैका छोराछोरी विज्ञान पढछन् यसो गर्छन उसो गर्छन तिमीहरुले चाहिँ अरु विषय पढदा अरुले के भन्लान् ? के हामी पढाउन नसक्ने छौं र ?पढेर खेतीपाती गर्छु भन्यो भने पनि अरुले के भन्लान्?खेलाडी बन्छु भनेपनि गायक संगीतकार आदि इत्यादि बन्छु भनेपनि अरुले के भन्लान्? मासु बेच्छु,तरकारी बेच्छु,चटपटे बेच्छु भनेपनि अरुले के भन्लान्? त्यसैगरि साधारण तरिकाले विवाह व्रतवन्ध गरौं भन्दा पनि त्यही कुरा आउँछ अरुले के भन्लान् ? अनि सकिनसकी रिन गरेर भएपनि तडकभडक देखाउँछौं । दुई दिनको रमिताको लागि दुई वर्षसम्मको तनावको भार बोक्छौं । आफनो हैसियत भन्दा ठूलो हुँ भन्ने देखाउने अनौठो चरित्र छ हाम्रो समाजको । हामीलाई सानो देखिन कमजोर देखिन मनलाग्दैन । मानौं हामी आफनो लागि भन्दा अरुको लागि बाँच्छौं । अरुले कहिल्यै आएर केही गरिदिदैनन् तर जिन्दगीभरि अरुसँग डराएर आफना रहरहरु मार्छौ । अरु भनेको समाजको नदेखिने भूत हो  जसले मनमा दिमागमा आएर हामीलाई तर्साइराख्छ । हामीलाई रोकिराख्छ ,छेकिराख्छ । एकफेर गरेर देखाउने हो भने त्यो भूत आफैं डराएर भाग्छ तर हामी डराएसम्म त्यसले तर्साइराख्छ ,अँठयाईराख्छ । 


जिन्दगीभरि धोती मात्र लगाएका हाम्रा आमा काकीहरुलाई कुर्ता सुरुवाल लगाउने ,दौरा सुरुवाल मात्र लगाएकालाई पनि सर्ट पाइन्ट लगाउने रहर त हुन्छ तर अरुले के भन्लान,गिज्याउलान भनेर लगाइहाल्ने आँट गरिहाल्दैनन् । कुनै केटा होस वा केटीले विहे नगरी लामो समय बस्यो भने वा गर्दिन भन्यो भनेपनि घरमा करकर गरिन्छ नगरेर हुन्छ अरुले के भन्लान ल भन् त ? केटा र केटीसँगै घुम्न गएको देखे अरुले के भन्लान् ? विहे गरेर अब सँगै बस्न सक्दिन सम्वन्धविच्छेद गर्छु भन्दा अरुले के भन्लान् ? म समलिंगी हुँ भन्छु भन्दा पनि अरुले के भन्लान् ? केटाहरुसँग सँधै वाइक वा गाडीमा हिँडदा अरुले के भन्लान् ? स्कर्ट लगाएर हिँडदा पनि अरुले के भन्लान,सबै छोपिने मात्र लगाएपनि अरुले के भन्लान्? लामो दाह्री पाल्दा अरुले के भन्लान् ? टुप्पी पालेपनि अरुले के भन्लान?सँधै घरमा बसेपनि ,घर नआएपनि ,नक्कल गरेर चिटिक्क परेर हिडेपनि,मेकअप नगरेपनि,छोरी मान्छेले काममा देश विदेश डुलिराखेपनि,चाँडै घरबाट निस्केपनि,अवेर घर आएपनि,धर्म परिवर्तन गर्छु भनेपनि,एउटामात्र बच्चा पाउँछुभनेपनि,बच्चानै नपाई बस्छु भनेपनि आदि इत्यादि अनेकन कुराहरुमा अरुले के भन्लान्? भन्ने प्रश्नको सामना गरिरहनुपर्छ ।

  समाजशास्त्रमा यो कुरालाई सोसियल मिररिङ थ्योरी अन्तर्गत राखेर हेर्न सकिन्छ जसका अनुसार समाजले वा अरु कसैले कुनै कुरा अंगीकार नगरी व्यक्ति स्वयंले आफूलाई समाजको ऐनामा प्रतिविम्वित गराउन र सदर गराउन सक्दैन । 

दार्शनिक ओशोले भनेका छन्“ तिमीले केही गरेपनि अरुले केही भन्छन् केही नगरेपनि अरुले केही भन्छन् त्यसैले केही नगर्नुभन्दा केही गरेरै केही भनेको वेश । ”


प्रकाशित असोज १५ २०७२


भन्न नसकेका कुरा

 भन्न नसकेका कुरा

     - अविरल थापा

जीवनयापनको क्रममा जीन्दगीमा अनेक मानिसहरु आउँछन् जान्छन् । कोही मानिससँग कुरा मिल्छ कोहीसँग मिल्दैन । घरभित्रै पनि कोही मानिससँग नजिक भईन्छ भने कोहीसँग भईन्न । मान्छेको मनमा अनेक कुराहरु हुन्छन् तर ती सबै कुरा खोलेर र खुलेर जो कोहीलाई कसैले पनि भन्दैन । आफनो कुरा भन्न पनि सबैले मन मिल्ने मानिस खोज्छ जस्ले कुरा बुझोस् तर भेद नखोलोस् ।

जिन्दगीमा व्यवहार गर्दै जाँदा अनेक परिस्थितहरु आईलाग्छन् । समय र अवस्था हेरेर कति कुरा भन्न मन लागे पनि भन्न सकिन्न भने कति कुरा भनेपनि बुझाउन सकिन्न । जिन्दगीमा भनिएका कति कुराको महत्व र अर्थ त कालान्तरमा समयले मात्र बुझाउन सक्छ । पहिला निरर्थक लागेको कुरा पछि महत्वपूर्ण लाग्छ भने पहिला मुल्यवान लागेको कुरा पछि वाहियात लाग्छ ।। सानो छँदा आफूलाई रहर लागेर किन्न मन लागेको कुरा आफना अभिभावकलाई भन्ने हिम्मत आउँदैन भने वयष्क छँदा आफुलाई मन परेको मानिसलाई प्रेम गर्छु भन्ने हिम्मत नआउन पनि सक्छ । पछि सम्झँदा पहिले बहस हुँदा वा सम्झाउँदा मैले त्यो कुरा भन्नुपर्ने थियो वा भन्न सक्नुपर्ने थियो भन्ने लाग्छ तर फेरि भन्छु भन्दा समय र सन्दर्भ मिल्दैन । यसरी अनेक कारण र परिस्थितले मानिसको जिन्दगीमा भन्नुपर्ने तर भन्न नसकेका कैयौं कुराहरु थुप्रेर बसेको हुन्छ । पहिले व्यक्त गर्न नसकेको प्रेम पछि समय घर्केर गएपछि व्यक्त गर्न सकेपनि कुनै अर्थ नहुन सक्छ । कहिलेकांही प्रेम व्यक्त गर्ने सवालमा दुवैलाई दुवैजना मन परेको तर दुवैले आफनो भावना व्यक्त गर्न नसक्दा अरु सँगै वैवाहिक सम्वन्ध गाँसिन पुग्छ र पछि कुरा गर्दा म पनि त प्रेम गर्थें नि भन्दा दुवैलाई पछुतो पनि लाग्न सक्छ ।  पहिले बढेको असमझदारी अहिले आएर त्यतिबेला खासमा यस्तो चाहिं भएको थियो है भन्दा सामान्यिकरण भएर जान सक्छ । 

आखिर किन मानिसले उचित समयमा आफना कुरा प्रष्ट राख्न सक्दैन त ? के कुराले मानिसलाई रोक्छ वा हिच्किचाउँछ त ? सबै मानिसलाई एकै कुरा लागु नहुन सक्छ तर सामान्यतया मानिसको स्वभाव,अहं,डर,लाचारी,स्वार्थ लगायतले आफना कुरा अभिव्यक्त गर्न नसक्नुमा भूमिका खेलेको हुन्छ । कहिलेकांही आफु तल पर्छु भनेर मानिसले झुट बोलेको हुन्छ । कहिले आफु बदनाम हुन्छु भनेर कुरा छलेको हुन्छ तर त्यो कुराले पछिसम्म उसको मन भने पोलिरहेको हुन्छ । पहिला जसलाई आफुले गर्दा मर्का परेको थियो वा अन्याय भएको थियो त्यो मानिसलाई भेटेर माफि माग्न पाए वा कुरा स्पष्ट गर्न पाए चैन मिल्छ । जिन्दगीमा कति कुरा चाहिं त्यतिबेला सम्वन्धित पक्षलाई जति राम्रोसँग बुझाएको भएपनि उसले बुझेको हुँदैन र दोषी नै सम्झेको हुन्छ तर कालान्तरमा उसले सत्यता बुझ्छ र यथार्थ स्विकार्छ । जिन्दगीमा कति कुराको छिनोफानो हुन उचित समयलाई कुर्न बाहेक मानिसले केही गर्न सक्दैन । समयले नै सफाई दिन्छ समयले नै दोषी बनाउँछ ।। हजारौं प्रमाण र स्पष्टिकरण दिएपनि कतिकुरा समय नआई निक्र्यौलमा पुग्नै सकिन्न । 

कहिलेकांही क्षणिक स्वार्थपूर्तिको लागि एक आफन्तले अर्काका विरुद्ध वा एक छिमेकीले अर्काका विरुद्ध एक साथीले अर्काका विरुद्ध कुरा उचालेर झगडा बढाएका हुन्छन् । कतिको वर्षौंदेखि बोलचाल नै बन्द भएको हुन्छ । धेरै समय भ्रम पालेर र अरुका कुरा सुनेर झगडा गरेकाहरु पछि कुरा बुझेर बोल्दा अकंमाल गरेर रुने अवस्था पनि आउँछ । कहिलेकांही अरुले गरेको अपराधको सिकार आफू भईन्छ । जति हैन भन्दा पनि प्रमाण पुग्दैन वा चलचित्रमा जस्तै त्यति बेला कसैले आफैलाई देखेको हुन्छ । यस्ता कुरा आफुलाई थाहा हुन्छ तर अर्कोलाई बुझाउन सकिन्न । यी कुरा कहिल्यै नसुल्झेर जीवनभर दोषी भएर बाँच्नुपर्ने पनि हुन सक्छ वा धेरैपछि भेद खोलेर सफाई पनि पाउन सकिन्छ । 

आजकल धेरै नयाँ मानिस सामाजिक संजालमा साथी हुन आईपुग्छन् । हेर्दा धेरै साथी हुन्छन् तर सबै सँग एकनास बोल्न सकिंदैन । कति सँग बोल्न मन भए पनि के ठान्ने होला भन्ने हुन्छ । कतिले पहिला आफूले बोल्दा आफू तल परिन्छ कि भन्ने सोच्छन् । कतिको कामको बेलामा मात्र बोल्ने बानी हुन्छ । न हामी मन खोलेर कसैको प्रशंसा गर्न सक्छौ न आलोचना । न कसैको नजिक हुन सक्छौं न टाढा नै जान सक्छौं । कहिले अहंले छेक्छ कहिले डरले । आफ्नो कुरा भनेपछि कसैलाई गुमाउनु पर्ला कि कोही टाढा गईदेला कि भन्ने भय पनि हुन्छ ।

आखिर जे जस्तो भएपनि आफनो कुरा भन्न खोजिरहनुपर्छ । लेखेर हुन्छ कि संकेतले हुन्छ कि व्यवहारले देखाएर हुन्छ आफनो कुरा बुझाउन खोजिरहनुपर्छ । कतिलाई सोझै भन्न पर्छ कतिलाई घुमाएर भन्नपर्छ । मनमा कुरा पकाएर आफैंलाई दुख दिनुभन्दा मनको गाँठो र मनको भारी फुकाउँदै बिसाउँदै जानुपर्छ । भनेर मान्छे मर्दैन तातोपानीले घर डढ्दैन ।   

 



आत्महत्या -बहादुरी कि कायरता ?

 आत्महत्या ःबहादुरी कि कायरता ?

—अविरल थापा

आत्महत्या कायरले गर्छ कि बहादुरले यो एउटा गम्भीर प्रश्न हो । तर्क वितर्कहरु अनेक हुनसक्छन् । आत्महत्या गर्नुका पछाडि जैविक कारणहरु पनि जिम्मेवार हुन्छन् भनेर वैज्ञानिकहरु भन्छन् । एउटा सुन्दर जीवन अकालमै समाप्त गर्ने निर्णयमा आखिर मानिस किन पुग्छ त ?। हाम्रो समाजमा चाहिं मानिसहरु के कारणले आत्महत्या गर्ने अवस्थामा पुग्छन् त ? कोहीले चाहेको पाउन नसकेर, कोहीले त्याग्न नसकेर, कोहीले सफल हुन नसकेर अनेक अनेक कारण देखाउँदै आत्महत्याको बाटो रोजेकाछन् । आखिर मानिस के सोचेर बाँच्दछ र के सोचेर मर्दछ त ?केही कारणहरुको विश्लेषण गरौं जसले मानिसलाई आत्महत्याको मार्गतर्फ डोरयाउँछ । 

व्यक्तिगत कारण —

मानिसको ईच्छा आकांक्षा र चाहनाहरु ऊ बाँचेको परिवेश समाज र देश अनुसार फरक फरक हुन्छ । आफूसँग नभएको कुरा पाउन खोज्नु मानवीय गुण नै हुन् । को के पाएर खुशी हुन्छ र को के गुमाएर दुखी हुन्छ कसैले भन्न सक्दैन र अरु कसैले ल यो पाईस अब तँ खुसी हो भनेर पनि कोही खुशी हुने हैन । परिवार र समाजभित्रै बसेपनि मानिस वास्तवमा एकांकी प्राणी हो । उसका नीजि मनोकांक्षाहरु बेग्लै हुन्छन् । म जे पाएर खुसी हुन्छु अर्को नहुन सक्छ । जव मानिस परिवारभित्र बस्छ उसले परिवारभित्रबाट पनि केही आकांक्षाहरु राख्छ समाजबाट पनि राख्छ । आफना विचारहरु राख्छ । जव उसले पाउन पनि सक्दैन र विद्रोह गर्न पनि सक्दैन तव सायद उसलाई यो संसार रित्तो भएको भान परि महाप्रस्थानको बाटो लिन्छ । 

त्यस्तै किशोरावस्थामा हुने आकर्षणयुक्त प्रेमदेखि लिएर युवावस्थामा हुने आशक्तियुक्त प्रेमले पनि धेरैलाई आत्महत्याको सिकार बनाएको छ । कतिको प्रेमप्रस्ताव  अस्विकृत हुन्छ । कतिको त्यसै टुटछ । धेरैलाई आफूले चाहेको मानिस पाइएन भने संसारनै सकिन्छ ,जिन्दगीनै बर्बाद हुन्छ भनेजस्तो एकोहोरो सोच आउँछ र धेरैले बिगे्रको सम्वन्धको चोट सहन नसकी वा मरेर देखाइदिन्छु भन्ने मूर्खतापूर्ण सोच लिइ आवेशमा पनि आत्महत्या गर्छन् । उनीहरुले बुझनुपर्ने कुरा के हो भने जिन्दगी लामो छ र यस्ता कैयन सम्वन्धहरु बन्छन विग्रन्छन र जिन्दगी अघि बढिरहन्छ । पढन पठाएका छोराछोरी कुन समस्या र मनोदशावाट गुज्रिराखेका छन भनेर धेरै आमावावु र अभिभावकलाई थाहा नै हुन्न । एकोहोरो पढ मात्र भन्नु र यसो गर्नु हुन्न उसो हुन्न भन्नुको साटो साथीको जस्तो व्यवहार गरि यो उमेरमा यस्तो यस्तो पनि हुन सक्छ है यसरी अघि बढनु यसरी सम्हाल्नु भनेर मार्गदर्शन गर्नसके धेरैको ज्यान जोगिन सक्छ ।  जेसुकै परेको खण्डमा परिवारनै अन्तिम सहारा हो है भन्ने मनोविज्ञानमा पार्न सक्नुपर्छ । कति छोराछोरीले फेरि आमाबाबुको सँधैको व्यस्तता,वेवास्ता र एकोहोरो पढाइको दवाव झेल्न नसकेर पनि बरु मरे आनन्दै हुन्छ भनेर पनि नराम्रो निर्णय लिन्छन् । कहिलेकांही राम्रै नियत राखेर भन्न खोजेपनि तरिका मिलाउन नसक्दा उल्टो असर गरिराखेको हुन्छ र अन्तिममा खराव नतिजा निस्केपछि बल्ल गल्तिको महसुस हुन्छ जसतर्फ सचेत रहँदै प्रेमपूर्वक व्यवहार गर्नुपर्छ । 

आर्थिक कारण —

पैसै कमाउन सकिएन यार भनेर गुनासो गर्नेहरु र भनेको जस्तो जागिर पाउन नसकेर विरक्तिनेहरु पाइला पाइलामा भेटिन्छन् ।। हुन त पैसाले कसैलाई पनि पुग्दैन तर कमसेकम एक हदको व्यवस्थित जिन्दगी जिउने सपना सबैको हुन्छ । विवाहितहरुको परिवारका लागि समेत थप आर्थिक भार सम्हाल्नुपर्ने कारणले धेरै कमाउनै पर्ने चाप नै हुन्छ । कतिको आफनै योग्यता नपुगेर त कतिको योग्यता अनुसारको काम नभेटेर बेचैनी बढछ । कतिले योग्य भएर पनि काम गरेर अनुसार तलव सुविधा नपाएर खिन्न हुन्छन्  । उसले न भएको जागिर छोडन सक्छ न थप कमाइको लागि देश छोडन सक्छ तर घर परिवारको कमाएरै ल्याउनुपर्ने दवाव एकनास झेलिराखेको हुन्छ । सबै मानिसको एकै आँट र स्वभाव हुन्न र गरिराखेकै छु त मेरो वाध्यता र मर्काचाहिं किन कसैले बुझदैनन बरु मरिदिन्छु भनेर पनि आत्महत्याको बाटो समाएका कैयन उदाहरण छन् । कतिको चाहिँ आफुसरहका साथीभाइ र आफन्तलेझै पैसा कमाउन नसकेर लघुताभाष महसुस गर्ने स्वभाव पनि हुन्छ । अरुसँग दाँजेर आफनो सफलता कदापि नाप्नु हूुँदैन । गर्न खोज्नुपर्छ र आफुले गरेको काम र कमाईबाट आफू खुशी छु भने त्यही ठूलो कुरा हो । पैसाका निम्ति व्यापार व्यवसाय गर्ने खुवी र हिम्मत पनि धेरैको हुँदैन र कतिले गरेपनि व्यापारकै ऋणधन हुनसक्छ । त्यसैले घरपरिवारका मानिसले कमाइ गर्न निस्केको मानिसको पनि समस्या र मनोविज्ञान बुझेर व्यवहार गरिदिनुपर्छ । 

सामाजिक कारण —

मानिस एकै कारणले मात्र आत्महत्या गरिहाल्छ भन्न सकिंदैन । कतिले आवेशमा आएर कतिले पुर्ण योजना बनाएरै गर्छन । कतिले पैसा कमाउन नसकेको भन्दै कतिले इज्जत कमाउन नसकेर कतिले प्रेम पाउन नसकेर कतिले इज्जतमा दाग लागेर संसारबाट विदा हुने कठिन निर्णय लिन्छन् । हाम्रो समाजमा जस्ले धन कमायो उसैको धेरै इज्जत हुन्छ उसैको जयजयकार हुन्छ । कस्ले कसरी कमायो सरोकार राख्दैन । भ«ष्टचारीनै भनेर प्रमाणित भएपनि सानका साथ समाजमै बसेको हुन्छ इमान्दार चाहिं सामान्य आवश्यकता पुरा गर्न अहोरात्र खटिएर एउटा कुनामा खुम्चिएर बसेको हुन्छ जस्ले वैराग्यता बढाउँछ । अचेल विवाहवेत्तर यौन सम्वन्ध र अनैतिक सम्वन्धको चुहावटले पनि कतिले साक्षात्कार गर्न नसक्दा आत्महत्याको मार्ग पहिल्याउँछन् । समाजमा व्याप्त उचनिच,र्दुव्यवहार,छुवाछुत सहन नसकी मर्नेहरु पनि यदाकदा भेटिन्छन् । 

आखिर जेजस्ता कारण भएपनि मर्ने निर्णय लिनु चानचुने कुरा हैन । कतिलाई गरि खान नसकेर त्यति जावो सहन नसकेर मरिहाल्ने कस्तो हुतिहारा रैछ भन्ने पनि लाग्ला । तर सोचौं त कसैलाई मर्ने मोडमा पुरयाउन जानी नजानी हामी धेरै जिम्मेवार भईराखेका हुन्छौं । समस्यामा सहारा भइदिएर ,पीर मर्का सुनिदिएर , उचित परामर्श र सकारात्मक बाटो देखाइदिएर सुन्दर जोगाइदिने क्षमता हामी सबै सँग छ । मर्न खोज्नेले पनि आफनो, परिवार र समाजभन्दा बाहिरको ठूलो र फराकिलो संसार देख्न सक्नुपर्छ । समस्याहरु आइरहन्छन लडिरहनुपर्छ तर यो जीवन र  संसार उत्तिकै सुन्दर पनि छ । बाँचुन्जेल त सबैले भोग्ने र सहने हिम्मत राख्नैपर्छ ।



जिन्दगीका गोप्य कुराहरु

 जिन्दगीका गोप्य कुराहरु


—अविरल थापा


अक्सर नजिकका साथीलाई गोप्य कुरा सुनाउने गरिन्छ । तर अरुलाई जति सुनाए पनि आफनो कमजोरीको केही अंश भने जो कोहीले लुकाएरै सुनाएको हुन्छ । सहानुभुति खोज्नु मानिसको स्वभावनै हो । अरुलाई दोषी देखाएर पानी माथिको ओभानो बन्न गोप्यता कायम गरिन्छ । आफु तल परेको कुरा त मानिस देखाउने वा भन्नै चाहँदैन । गोप्य कुरा सुनाउन नपाउँदाको सकस बेग्लै हुन्छ ।


कसैलाई नसुनाउनु है भनेर विश्वास गरेर सुनाउने जो कोहीको एउटा न एउटा मानिस त भईहाल्छ । उसले पनि उसको त्यसतै विश्वास लाग्दो पात्रलाई त्यसै भनेर सुनाउँछ । यसरी सबै विश्वास पात्रलाई सुनाउँदा सुनाउँदा गोप्य कुरा एककान मैदान हुँदै गाउँसहरभरि फैलिसक्छ । अँ तैंले थाहा पाईस् त्यस्तो भएछ नि ,त्यस्ले त्यस्तो गरेछ नि भनेर जानी जानी थाहा दिने हामी आफैं हुन्छौं । पहिलो पल्ट यौन संपर्क राखेको कुरा,कोसँग राखेको कुरा,आफु ठगिएको कुरा अक्सर गोप्य राख्न खोजिन्छ । भने पनि संशोधित र आफनो कुरा माथि पारेर भन्ने गरिन्छ । आफुले गरेका उटपटयाङ कामहरु, अरुलाई दोषी ठहराएर आफु जोगिएका कुराहरु मानिसले कहिल्यै सुनाउँदैन । खासै असर नपर्ने खालको छ भने केही समयपछि सुनाईन्छ तर गम्भीर प्रकृतिको परिणाम निम्त्याउने कुरा जीवनभर आफैंसँग गोप्य रहन्छ ।


सम्वन्धमा प्रेमीलाई वा श्रीमान श्रीमतीलाई छल गरेका,ढाँटेका कुरा गोप्य रहन्छन् । कतैबाट कुरा चुहिए पनि आफु चोखो बनेर अरुलाई नै दोषी देखाईन्छ । कतिपय लाजमर्दा कुरा सुनाउनै सकिन्न । कसैलाई प्रेम प्रस्ताव राख्दा अस्विकार गरेको कुरा ,झापड खाएको कुरा कसैले थाहा नपाए हुन्थ्यो जस्तो लाग्छ । आफनो कारणले अरुको ज्यान गएको,घरवार बिग्रेको कुराले मनमा पश्चाताप वा दुख लागे पनि मानिस बरु आफैं पिल्सिएर बस्छ तर म दोषी थिएँ सजाए पाऊँ भनेर भन्न सक्दैन । 


कहिलेकाँही आफु बच्न अरुलाई फसाईएको हुन्छ । कहिलेकाँही साथीहरुको लहैलहैमा लागेर अपराध गरिएको हुन्छ तर सकेसम्म कसैले थाहा नपाओस् भनेर लुकाईएको हुन्छ । कति कुरा साथीहरुलाई मात्र थाहा हुन्छ घरका मानिसलाई थाहा हुन्न । कतिकुरा घरकालाई थाहा हुन्छ साथीहरुलाई हुन्न । यौवनकालमा साथीहरुसँग गरेको रमाइलो र बदमाशीले बुढेसकालसम्मै मानिसलाई रोमाञचक बनाउँछ । आफ्नो गोप्य कुरा अर्कोलाई थाहा हुन्छ अर्काको आफुलाई थाहा हुन्छ । दुवै तैं चुप मैं चुप भएर आआफ्नो बचाऊ गर्छन् । कहिलेकाँही त्यसता साथीको सम्वन्ध बिग्रेर पोल खोलाखोल भएर दुवै जना फसेका पनि कैयन उदाहरण देखिन्छन् । कुराहरु मनमा गोप्य त राखिन्छ तर भित्रभित्र कुरीकुरी खाईरहेको हुन्छ । 


अरुको गोप्य कुरा पत्ता लगाएर फसाउन पाए हुन्थ्यो भनेर पछि परेका शत्रु पनि हुन्छन् । व्यक्ति देखि लिएर एक देशले अर्को देशको गोप्य सुचना चुहाउन लागि परेका हुन्छन् । कस्ले कति पैसा कमायो के गरेर कमायो,नयाँ के आविष्कार गर्यो ,नयाँ रणनिती के बनाउँदैछ थाहा पाउन लागिपरेकै हुन्छन् । को कलाकार वा खेलाडीको कोसँग प्रेम चक्कर चलिरहेको छ थाहा पाउन पत्रकार पछि परेका हुन्छन् । अर्काको गोप्यता भंग गरेर भड्खालोमा हाल्न खोज्नेहरु र अरुको गोप्यता फुस्केको थाहा पाएर खुच्चिङ भन्नलाई मानिसहरु पर्खेर बसेका हुन्छन् । कतिको घुस खाएर पैसा कमाएको कुरा बाहिर आउँछ कतिले अर्को श्रीमती बाहिर राखेको वा अर्को केटासँग सम्वन्ध राखेको कुरा फुस्किन्छ । गोप्य कुरा भंग हुँदा अरुलाई रमाईलो होला तर सहन कति गार्हो हुन्छ पर्नेलाई मात्र थाहा हुन्छ । 


कहिलेकाँही यहाँ त कस्ले थाहा पाउला त कस्ले नै देख्ला र भनेर घुम्न गयो कसै न कसैले देखिसकेर घरमा कुरा लाउन भ्याईसकेको हुन्छ । तिम्रो छोरा वा छोरी त फलानोसँग यो ठाउँमा डुल्दै थिए त बेलैमा होश गर्नु है मैले त बेलैमा भन्देको छु क्यारे भनेर कान भर्न भ्याईसकेका हुन्छन् । सानो छँदा घरमा वा स्कूलमा ढाँटेर फिल्म हेर्न खेल्न गएको कुरा कसैले देखेर घरमा कुरा लाईदिदा कतिले गाली खाई सही बाटो पनि लिएका हुन्छन् । सबै गोप्य कुरा भंग भएर हानी मात्र हुँदैन । कहिलेकाँही डुव्न लागेको पैसा जोगिन्छ । गोप्य कुरा भंग भएर सम्वन्धविच्छेद हुने देखि लिएर बोलचाल बन्द हुनेसम्म हुन्छ । आफनो गोप्य कुरा भंग नगर भनेर डरधाक धम्की दिएर कतिले शोषण पनि गरिराखेका हुन्छन् । कतिले गोप्यता भंग गर्दिन लाग्दा आवेशमा आएर हत्या सम्म गर्न पुग्छन् । कतिले घरमै बाल यौनशोषण वा कार्यालयमा शोषण गरिराखेका हुन्छन् । हाकिमको गोप्यता थाहा पाउँदा कतिले जागिरबाट हात धुनपर्छ । 


तपाई जतिसुकै गोप्य राख्न खोज्नुस भित्ताका कानहरुले र दुनियाँका हजार आँखाहरुले पछयाईरहेका हुन्छन् । के तपाईका पनि गोप्य कुरा छन् जुन कसैलाई कहिल्यै भन्न सक्नुहुन्न वा चाहनुहुन्न ?




सम्बन्ध विच्छेद !


सम्बन्ध विच्छेद ! 


—अविरल थापा

सम्बन्ध अर्थात समान तरिकाले अनुबन्ध भएको वा जोडिएको कुरा । कस्को कोसँग कतिखेर सम्वन्ध जुट्छ र कस्को कतिखेर के भएर सम्बन्ध टुट्छ दैवलाई पनि थाहा हुँदैन । अक्सर मानिसहरु समान स्वार्थका कारण नजिक हुन्छन । आपसी फाइदा र विश्वास छन्जेल मानिसको सम्बन्ध सुमधुरनै रहन्छ । सम्बन्धमा आर्थिक कुराको पनि उत्तिकै महत्व हुन्छ । जे पाउनको लागि सम्वन्ध बनाईएको थियो त्यो नपाएपछि सम्बन्ध टुट्छ ।  

सम्बन्ध साथीसाथीको, पतिपत्नीको, बाआमा र छोराछोरीको, आफन्तसँगको, साझेदारको,प्रेमीप्रेमिकाको ,दाजुभाइदिदीबहिनीको लगायत अनेकन हुनसक्छ । सबै सम्बन्धहरु विश्वासमा चल्छन् । सँधै काम गर्ने कुरा आदानप्रदान गर्ने साथीले घात गर्यो भने नराम्रो कुरामा फसायो भने साथीसाथी बिचको सम्वन्ध बिग्रन्छ । अनावश्यक शंका, हेप्ने ,माया नगर्ने, व्यक्तिगत स्वतन्त्रता नदिने , यौन असन्तुष्टि र वाहय सम्बन्ध ,आर्थिक कुरामा किचकिच गर्ने गर्दा पतिपत्नीको सम्बन्ध बिग्रन्छ । अक्सर आर्थिक लेनदेनका कारण आफन्तसँगको सम्बन्ध बिग्रन्छ । एकअर्कालाई दोषारपण , बेइमानीका कारण साझेदारबिच दरार आउँछ । आफना कुरा मात्र लादन खोज्ने, हेरचाह नगर्ने ,काम र पढाई र जीवनसाथी रोज्ने मामलामा स्वतन्त्रता नदिनुका कारण अभिभावकसँग सम्बन्ध बिग्रन्छ । धनसम्पतिको बाँडफाँडका कारण दाजुभाइको सम्बन्ध बिग्रन्छ । आपसी विश्वास, आपसी चाहना , अनावश्यक महत्वाकांक्षा ,स्वार्थका कारण प्रेमसम्बन्ध समाप्त हुन्छ । 

 कुनै दिन तिमीविना बाँच्न सक्दिन भनेको मान्छे अचानक अब म तिमीसँग बाँच्न सक्दिन भन्ने मोडमा कसरी पुग्छ ? झट्ट हेर्दा एकैदिनमा एकैछिनमा सम्बन्ध बिग्रयो सक्कियो भनेको जस्तो लाग्छ तर निर्णायक मोडमा आउनुअघि अनेकन घटना घटिसकेका हुन्छन् । अरुले हेर्दा केही नदेखिएपनि दुईजनाको हदयमा  अनेकचोटि बाढीपहिरो गईसकेको हुन्छ । थाम्नै नसकेपछि बाँध्नै नसकेपछि एकदिन अचानक त्यो विष्फोट हुन्छ र आवरणमा सुमधुर देखिएको सम्बन्छ अनायास टुक्राटुक्रा हुन्छ । कहिलेकाँही अरुको लहैलहै र बहकाउमा लाग्दा पनि राम्रो सम्बन्ध बिग्रन्छ । सम्बन्धमा टकराव आएपछि अरुको कुराको पछि लाग्नुभन्दा पहिला दुईजना आपसमा बसेर दिल खोलेर कुरा गर्नु हितकर हुन्छ । तेस्रो मान्छेले वातावरण मिलाईदिन सक्छ तर दुईजनाको अन्तरंग कुरा र सम्बन्धका अनेक अवयव र आयाम उसलाई थाहा हुँदैन । दुईजना बिच खास के भएको थियो भन्ने कुरा दुईजनालाई मात्र थाहा हुन्छ । मान्छेले अरुलाई कहिलेपनि पुरा कुरा सुनाउन सक्दैन केही न केही लुकाएरै सुनाउँछ असली पाण्डुलिपी त उसले हदयमै लुकाएर राखेको हुन्छ । त्यसैले दुइजना आपसमा मन माझेर कुरा गर्दा कतिपय पटक ठुलो लागेको कुरा बाफ भएर जान्छ । लेखेर कुरा गर्नु , फोनमा कुरा गर्नु र भेटेर आँखा जुधाएर कुरा गर्नुमा फरक हुन्छ । भेटेर कुरा गर्दाको आत्मियता र सदभाव बेग्लै हुन्छ । एकअर्कालाई देखेरै,आँखाको भावले ,बोलीले कतिकुरा त्यसै दुर हुन्छ । 

आफुले भनेजस्तो मात्र हुनपर्छ गर्नुपर्छ भन्ने सोचले धेरै कुरा बिगार्छ । उमेर अनुसार मानिसका इच्छा चाहना हुन्छन् । उमेर अन्तर भएका प्रेमील जोडीले एकअर्काको उमेरको ख्याल र आवश्यकता विचार गर्ने हो भने समस्या टरेर जान्छ । शंका झगडाको बिउ हो सकभर उम्रन नदिएकै जाती हुन्छ । शंकाले लंका जलाउन बेर लाउँदैन । अर्काको प्रगति देखेर डाहा गर्ने र त्यस्तै हुनपर्यो भनेर रातारात उचालिने र अनावश्यक दवाव दिनाले सम्बन्धमा तनाव निम्त्याउँछ । सकेको मेहनत र इमानले आर्जन गर्दै हैसियत बढाउँदै रमाउँदै अघि बढनु बुद्धिमानी हुन्छ । म ठूलो हुँ तँ सानो होस् , म यस्तो खानदानको , म धेरै पढेको बुझेको , म धनी भन्ने अहंले पनि सही परिणाम ल्याउँदैन । एकअर्काको अस्तित्व र प्राप्तिलाई सम्मान गरे कहिल्यै कालो मुख लाउनुपर्दैन । आफनो जोडीसँग असन्तुष्ट भएर राखिने अन्य सम्बन्धले सदैव संकट पैदा गर्छ । एकअर्कासँग नपाएका कुरा, अपेक्षा ,असन्तुष्टि खुलेर कुरा गर्यो भने अरुको सहारा लिएर आफनो घरपरिवार बिगार्ने परिस्थित सिर्जना हुँदैन । 

कोही पनि मानिस सर्वगुण सम्पन्न र पूर्ण  हुँदैन । सबै कुरा जिन्दगीमा एकैचोटि कसैले पनि पाउँदैन । कर्म गर्र्दै गएपछि भाग्यले पनि साथ दिदै जान्छ र मानिसले आफुलाई चाहिने कुरा जोडदै जान्छ । माया प्रेम ,विवाह आफनै उमेरको सँग ,कमसँग र धेरैसँग पनि हुनसक्छ त्यो ठूलो कुरा हैन तर सम्वन्धको सम्प्रभुता चाहिँ समान हुनपर्छ । एउटा आगो हुँदा अर्को पानी हुन सके झगडाको आगो निभ्छ । अरुले सदैव रामैै्र सोच्छन् भन्ने हुन्न उचालेर पछारेर सम्बन्ध बिगार्दिन खोज्ने पनि हुन्छन् सचेत रहनपर्छ । 


आफन्तसँग आर्थिक कारोवार गर्दा सयपटक सोच्नपर्छ । रकम सानो ठुलो हुनसक्छ तर परिणाम भयानक आउनसक्छ । पैसाले कस्को कतिखेर बोलचाल खुलाउँछ र बन्द गराउँछ चन्द्रेको बाउ इन्द्रेलाई पनि थाहा हुँदैन । छोराछोरीका कुरा सुनौ बाआमाका कुरा सुनौं ,साथीका,साझेदारका कुरा सुनौ कुरा गरौं सबै समस्याको हल निस्कन्छ ।


आगो जोगाउन र  सम्बन्ध जोगाउन प्रेमको हावाले जिन्दगीभर फु फु गरिरहनपर्छ । सम्बन्धमा खुशी नभएको मानिस चैनले कर्म गर्न र निदाउन कहिल्यै सक्दैन ।