सम्बन्ध विच्छेद !
—अविरल थापा
सम्बन्ध अर्थात समान तरिकाले अनुबन्ध भएको वा जोडिएको कुरा । कस्को कोसँग कतिखेर सम्वन्ध जुट्छ र कस्को कतिखेर के भएर सम्बन्ध टुट्छ दैवलाई पनि थाहा हुँदैन । अक्सर मानिसहरु समान स्वार्थका कारण नजिक हुन्छन । आपसी फाइदा र विश्वास छन्जेल मानिसको सम्बन्ध सुमधुरनै रहन्छ । सम्बन्धमा आर्थिक कुराको पनि उत्तिकै महत्व हुन्छ । जे पाउनको लागि सम्वन्ध बनाईएको थियो त्यो नपाएपछि सम्बन्ध टुट्छ ।
सम्बन्ध साथीसाथीको, पतिपत्नीको, बाआमा र छोराछोरीको, आफन्तसँगको, साझेदारको,प्रेमीप्रेमिकाको ,दाजुभाइदिदीबहिनीको लगायत अनेकन हुनसक्छ । सबै सम्बन्धहरु विश्वासमा चल्छन् । सँधै काम गर्ने कुरा आदानप्रदान गर्ने साथीले घात गर्यो भने नराम्रो कुरामा फसायो भने साथीसाथी बिचको सम्वन्ध बिग्रन्छ । अनावश्यक शंका, हेप्ने ,माया नगर्ने, व्यक्तिगत स्वतन्त्रता नदिने , यौन असन्तुष्टि र वाहय सम्बन्ध ,आर्थिक कुरामा किचकिच गर्ने गर्दा पतिपत्नीको सम्बन्ध बिग्रन्छ । अक्सर आर्थिक लेनदेनका कारण आफन्तसँगको सम्बन्ध बिग्रन्छ । एकअर्कालाई दोषारपण , बेइमानीका कारण साझेदारबिच दरार आउँछ । आफना कुरा मात्र लादन खोज्ने, हेरचाह नगर्ने ,काम र पढाई र जीवनसाथी रोज्ने मामलामा स्वतन्त्रता नदिनुका कारण अभिभावकसँग सम्बन्ध बिग्रन्छ । धनसम्पतिको बाँडफाँडका कारण दाजुभाइको सम्बन्ध बिग्रन्छ । आपसी विश्वास, आपसी चाहना , अनावश्यक महत्वाकांक्षा ,स्वार्थका कारण प्रेमसम्बन्ध समाप्त हुन्छ ।
कुनै दिन तिमीविना बाँच्न सक्दिन भनेको मान्छे अचानक अब म तिमीसँग बाँच्न सक्दिन भन्ने मोडमा कसरी पुग्छ ? झट्ट हेर्दा एकैदिनमा एकैछिनमा सम्बन्ध बिग्रयो सक्कियो भनेको जस्तो लाग्छ तर निर्णायक मोडमा आउनुअघि अनेकन घटना घटिसकेका हुन्छन् । अरुले हेर्दा केही नदेखिएपनि दुईजनाको हदयमा अनेकचोटि बाढीपहिरो गईसकेको हुन्छ । थाम्नै नसकेपछि बाँध्नै नसकेपछि एकदिन अचानक त्यो विष्फोट हुन्छ र आवरणमा सुमधुर देखिएको सम्बन्छ अनायास टुक्राटुक्रा हुन्छ । कहिलेकाँही अरुको लहैलहै र बहकाउमा लाग्दा पनि राम्रो सम्बन्ध बिग्रन्छ । सम्बन्धमा टकराव आएपछि अरुको कुराको पछि लाग्नुभन्दा पहिला दुईजना आपसमा बसेर दिल खोलेर कुरा गर्नु हितकर हुन्छ । तेस्रो मान्छेले वातावरण मिलाईदिन सक्छ तर दुईजनाको अन्तरंग कुरा र सम्बन्धका अनेक अवयव र आयाम उसलाई थाहा हुँदैन । दुईजना बिच खास के भएको थियो भन्ने कुरा दुईजनालाई मात्र थाहा हुन्छ । मान्छेले अरुलाई कहिलेपनि पुरा कुरा सुनाउन सक्दैन केही न केही लुकाएरै सुनाउँछ असली पाण्डुलिपी त उसले हदयमै लुकाएर राखेको हुन्छ । त्यसैले दुइजना आपसमा मन माझेर कुरा गर्दा कतिपय पटक ठुलो लागेको कुरा बाफ भएर जान्छ । लेखेर कुरा गर्नु , फोनमा कुरा गर्नु र भेटेर आँखा जुधाएर कुरा गर्नुमा फरक हुन्छ । भेटेर कुरा गर्दाको आत्मियता र सदभाव बेग्लै हुन्छ । एकअर्कालाई देखेरै,आँखाको भावले ,बोलीले कतिकुरा त्यसै दुर हुन्छ ।
आफुले भनेजस्तो मात्र हुनपर्छ गर्नुपर्छ भन्ने सोचले धेरै कुरा बिगार्छ । उमेर अनुसार मानिसका इच्छा चाहना हुन्छन् । उमेर अन्तर भएका प्रेमील जोडीले एकअर्काको उमेरको ख्याल र आवश्यकता विचार गर्ने हो भने समस्या टरेर जान्छ । शंका झगडाको बिउ हो सकभर उम्रन नदिएकै जाती हुन्छ । शंकाले लंका जलाउन बेर लाउँदैन । अर्काको प्रगति देखेर डाहा गर्ने र त्यस्तै हुनपर्यो भनेर रातारात उचालिने र अनावश्यक दवाव दिनाले सम्बन्धमा तनाव निम्त्याउँछ । सकेको मेहनत र इमानले आर्जन गर्दै हैसियत बढाउँदै रमाउँदै अघि बढनु बुद्धिमानी हुन्छ । म ठूलो हुँ तँ सानो होस् , म यस्तो खानदानको , म धेरै पढेको बुझेको , म धनी भन्ने अहंले पनि सही परिणाम ल्याउँदैन । एकअर्काको अस्तित्व र प्राप्तिलाई सम्मान गरे कहिल्यै कालो मुख लाउनुपर्दैन । आफनो जोडीसँग असन्तुष्ट भएर राखिने अन्य सम्बन्धले सदैव संकट पैदा गर्छ । एकअर्कासँग नपाएका कुरा, अपेक्षा ,असन्तुष्टि खुलेर कुरा गर्यो भने अरुको सहारा लिएर आफनो घरपरिवार बिगार्ने परिस्थित सिर्जना हुँदैन ।
कोही पनि मानिस सर्वगुण सम्पन्न र पूर्ण हुँदैन । सबै कुरा जिन्दगीमा एकैचोटि कसैले पनि पाउँदैन । कर्म गर्र्दै गएपछि भाग्यले पनि साथ दिदै जान्छ र मानिसले आफुलाई चाहिने कुरा जोडदै जान्छ । माया प्रेम ,विवाह आफनै उमेरको सँग ,कमसँग र धेरैसँग पनि हुनसक्छ त्यो ठूलो कुरा हैन तर सम्वन्धको सम्प्रभुता चाहिँ समान हुनपर्छ । एउटा आगो हुँदा अर्को पानी हुन सके झगडाको आगो निभ्छ । अरुले सदैव रामैै्र सोच्छन् भन्ने हुन्न उचालेर पछारेर सम्बन्ध बिगार्दिन खोज्ने पनि हुन्छन् सचेत रहनपर्छ ।
आफन्तसँग आर्थिक कारोवार गर्दा सयपटक सोच्नपर्छ । रकम सानो ठुलो हुनसक्छ तर परिणाम भयानक आउनसक्छ । पैसाले कस्को कतिखेर बोलचाल खुलाउँछ र बन्द गराउँछ चन्द्रेको बाउ इन्द्रेलाई पनि थाहा हुँदैन । छोराछोरीका कुरा सुनौ बाआमाका कुरा सुनौं ,साथीका,साझेदारका कुरा सुनौ कुरा गरौं सबै समस्याको हल निस्कन्छ ।
आगो जोगाउन र सम्बन्ध जोगाउन प्रेमको हावाले जिन्दगीभर फु फु गरिरहनपर्छ । सम्बन्धमा खुशी नभएको मानिस चैनले कर्म गर्न र निदाउन कहिल्यै सक्दैन ।




No comments:
Post a Comment