अरुले के भन्लान् ?
=अविरल थापा
मानिस एक स्वतन्त्र प्राणी हो । त्यसैगरि मानिस एक सामाजिक प्राणी पनि हो । फेरि जसले जतिसुकै स्वतन्त्र छु भनेपनि घर र समाजको चौघेरामा मानिस बाँधिएकै हुन्छ । न घर समाज त्याग्न सक्छ न पूर्णरुपमा रमाउननै सक्छ । व्यक्तिगतरुपमा मानिसका अनेक इच्छा चाहना र रहरहरु हुन्छन् तर घरसमाजको वन्धन र लोकाचारले त्यसलाई पलपल तिलाञजली दिन वाध्य हुन्छ । मानिसलाई पहिलादेखि दिमागमा परेको वा पारिएको छाप मेटन समय लाग्छ नै । पहिलेदेखिको रितीथिती चालचलन चटक्कै छोडिहाल्ने हिम्मत जोकसैको हुँदैन । नयाँ नयाँ कुराको देखासिकी गर्ने ,अवलम्वन गर्ने मन सवैको हुन्छ तर अरुले के भन्लान् भनेर गर्न चाहिँ मानिस हिच्कििचाईरहेको हुन्छ । वावु वाजेदेखि चलिआएको चलन ,संस्कार भनेर कति वाहियात कुरामा पनि हामी अडिइराखेका हुन्छौं ।
जात भात भनेको केही हैन भनेर एकातिर भन्छौं भने अर्कोतिर आफना छोराछोरीले अन्तर जातीय विवाह गर्छु भन्दा त्यसो भन्दैमा हुन्छ अरुले के भन्लान् सोच त ? बाबुबाजेको इज्जत कता जाला?तँ आफैं सोच त समाजमा कसरी हिँडने भोलिदेखि । नानाथरि कुरा निस्कन्छन् । चारजनाले के भन्लान् भनेर हामी आफनो स्वतन्त्रता र खुशी लत्याउँछौं । दुनियाँको मुख केहीगरि पनि थुन्न सकिदैन । अरुको आलोचना गरेर आफू ठूलो राम्रो हुने समाजको चरित्रनै हो । मानिसले एकदुईदिन कुरै नकाटने त हैनन तर हामी यसतो आभामण्डल बनाउँछौ कि त्यसपश्चात त हामी असामाजिक नै बन्छौं । हाम्रो मनमा टाँगिएको भ्रमको पर्दाले आफनो सुन्दर संसारलाई सँधै छेक्छौं ।
एसएलसीमा राम्रो अंक ल्याएका छोराछोरीले आफूले चाहेको विषय पढ्न पाउँदैनन् । सबैका छोराछोरी विज्ञान पढछन् यसो गर्छन उसो गर्छन तिमीहरुले चाहिँ अरु विषय पढदा अरुले के भन्लान् ? के हामी पढाउन नसक्ने छौं र ?पढेर खेतीपाती गर्छु भन्यो भने पनि अरुले के भन्लान्?खेलाडी बन्छु भनेपनि गायक संगीतकार आदि इत्यादि बन्छु भनेपनि अरुले के भन्लान्? मासु बेच्छु,तरकारी बेच्छु,चटपटे बेच्छु भनेपनि अरुले के भन्लान्? त्यसैगरि साधारण तरिकाले विवाह व्रतवन्ध गरौं भन्दा पनि त्यही कुरा आउँछ अरुले के भन्लान् ? अनि सकिनसकी रिन गरेर भएपनि तडकभडक देखाउँछौं । दुई दिनको रमिताको लागि दुई वर्षसम्मको तनावको भार बोक्छौं । आफनो हैसियत भन्दा ठूलो हुँ भन्ने देखाउने अनौठो चरित्र छ हाम्रो समाजको । हामीलाई सानो देखिन कमजोर देखिन मनलाग्दैन । मानौं हामी आफनो लागि भन्दा अरुको लागि बाँच्छौं । अरुले कहिल्यै आएर केही गरिदिदैनन् तर जिन्दगीभरि अरुसँग डराएर आफना रहरहरु मार्छौ । अरु भनेको समाजको नदेखिने भूत हो जसले मनमा दिमागमा आएर हामीलाई तर्साइराख्छ । हामीलाई रोकिराख्छ ,छेकिराख्छ । एकफेर गरेर देखाउने हो भने त्यो भूत आफैं डराएर भाग्छ तर हामी डराएसम्म त्यसले तर्साइराख्छ ,अँठयाईराख्छ ।
जिन्दगीभरि धोती मात्र लगाएका हाम्रा आमा काकीहरुलाई कुर्ता सुरुवाल लगाउने ,दौरा सुरुवाल मात्र लगाएकालाई पनि सर्ट पाइन्ट लगाउने रहर त हुन्छ तर अरुले के भन्लान,गिज्याउलान भनेर लगाइहाल्ने आँट गरिहाल्दैनन् । कुनै केटा होस वा केटीले विहे नगरी लामो समय बस्यो भने वा गर्दिन भन्यो भनेपनि घरमा करकर गरिन्छ नगरेर हुन्छ अरुले के भन्लान ल भन् त ? केटा र केटीसँगै घुम्न गएको देखे अरुले के भन्लान् ? विहे गरेर अब सँगै बस्न सक्दिन सम्वन्धविच्छेद गर्छु भन्दा अरुले के भन्लान् ? म समलिंगी हुँ भन्छु भन्दा पनि अरुले के भन्लान् ? केटाहरुसँग सँधै वाइक वा गाडीमा हिँडदा अरुले के भन्लान् ? स्कर्ट लगाएर हिँडदा पनि अरुले के भन्लान,सबै छोपिने मात्र लगाएपनि अरुले के भन्लान्? लामो दाह्री पाल्दा अरुले के भन्लान् ? टुप्पी पालेपनि अरुले के भन्लान?सँधै घरमा बसेपनि ,घर नआएपनि ,नक्कल गरेर चिटिक्क परेर हिडेपनि,मेकअप नगरेपनि,छोरी मान्छेले काममा देश विदेश डुलिराखेपनि,चाँडै घरबाट निस्केपनि,अवेर घर आएपनि,धर्म परिवर्तन गर्छु भनेपनि,एउटामात्र बच्चा पाउँछुभनेपनि,बच्चानै नपाई बस्छु भनेपनि आदि इत्यादि अनेकन कुराहरुमा अरुले के भन्लान्? भन्ने प्रश्नको सामना गरिरहनुपर्छ ।
समाजशास्त्रमा यो कुरालाई सोसियल मिररिङ थ्योरी अन्तर्गत राखेर हेर्न सकिन्छ जसका अनुसार समाजले वा अरु कसैले कुनै कुरा अंगीकार नगरी व्यक्ति स्वयंले आफूलाई समाजको ऐनामा प्रतिविम्वित गराउन र सदर गराउन सक्दैन ।
दार्शनिक ओशोले भनेका छन्“ तिमीले केही गरेपनि अरुले केही भन्छन् केही नगरेपनि अरुले केही भन्छन् त्यसैले केही नगर्नुभन्दा केही गरेरै केही भनेको वेश । ”
प्रकाशित असोज १५ २०७२



No comments:
Post a Comment