Sunday, November 15, 2026

आत्महत्या -बहादुरी कि कायरता ?

 आत्महत्या ःबहादुरी कि कायरता ?

—अविरल थापा

आत्महत्या कायरले गर्छ कि बहादुरले यो एउटा गम्भीर प्रश्न हो । तर्क वितर्कहरु अनेक हुनसक्छन् । आत्महत्या गर्नुका पछाडि जैविक कारणहरु पनि जिम्मेवार हुन्छन् भनेर वैज्ञानिकहरु भन्छन् । एउटा सुन्दर जीवन अकालमै समाप्त गर्ने निर्णयमा आखिर मानिस किन पुग्छ त ?। हाम्रो समाजमा चाहिं मानिसहरु के कारणले आत्महत्या गर्ने अवस्थामा पुग्छन् त ? कोहीले चाहेको पाउन नसकेर, कोहीले त्याग्न नसकेर, कोहीले सफल हुन नसकेर अनेक अनेक कारण देखाउँदै आत्महत्याको बाटो रोजेकाछन् । आखिर मानिस के सोचेर बाँच्दछ र के सोचेर मर्दछ त ?केही कारणहरुको विश्लेषण गरौं जसले मानिसलाई आत्महत्याको मार्गतर्फ डोरयाउँछ । 

व्यक्तिगत कारण —

मानिसको ईच्छा आकांक्षा र चाहनाहरु ऊ बाँचेको परिवेश समाज र देश अनुसार फरक फरक हुन्छ । आफूसँग नभएको कुरा पाउन खोज्नु मानवीय गुण नै हुन् । को के पाएर खुशी हुन्छ र को के गुमाएर दुखी हुन्छ कसैले भन्न सक्दैन र अरु कसैले ल यो पाईस अब तँ खुसी हो भनेर पनि कोही खुशी हुने हैन । परिवार र समाजभित्रै बसेपनि मानिस वास्तवमा एकांकी प्राणी हो । उसका नीजि मनोकांक्षाहरु बेग्लै हुन्छन् । म जे पाएर खुसी हुन्छु अर्को नहुन सक्छ । जव मानिस परिवारभित्र बस्छ उसले परिवारभित्रबाट पनि केही आकांक्षाहरु राख्छ समाजबाट पनि राख्छ । आफना विचारहरु राख्छ । जव उसले पाउन पनि सक्दैन र विद्रोह गर्न पनि सक्दैन तव सायद उसलाई यो संसार रित्तो भएको भान परि महाप्रस्थानको बाटो लिन्छ । 

त्यस्तै किशोरावस्थामा हुने आकर्षणयुक्त प्रेमदेखि लिएर युवावस्थामा हुने आशक्तियुक्त प्रेमले पनि धेरैलाई आत्महत्याको सिकार बनाएको छ । कतिको प्रेमप्रस्ताव  अस्विकृत हुन्छ । कतिको त्यसै टुटछ । धेरैलाई आफूले चाहेको मानिस पाइएन भने संसारनै सकिन्छ ,जिन्दगीनै बर्बाद हुन्छ भनेजस्तो एकोहोरो सोच आउँछ र धेरैले बिगे्रको सम्वन्धको चोट सहन नसकी वा मरेर देखाइदिन्छु भन्ने मूर्खतापूर्ण सोच लिइ आवेशमा पनि आत्महत्या गर्छन् । उनीहरुले बुझनुपर्ने कुरा के हो भने जिन्दगी लामो छ र यस्ता कैयन सम्वन्धहरु बन्छन विग्रन्छन र जिन्दगी अघि बढिरहन्छ । पढन पठाएका छोराछोरी कुन समस्या र मनोदशावाट गुज्रिराखेका छन भनेर धेरै आमावावु र अभिभावकलाई थाहा नै हुन्न । एकोहोरो पढ मात्र भन्नु र यसो गर्नु हुन्न उसो हुन्न भन्नुको साटो साथीको जस्तो व्यवहार गरि यो उमेरमा यस्तो यस्तो पनि हुन सक्छ है यसरी अघि बढनु यसरी सम्हाल्नु भनेर मार्गदर्शन गर्नसके धेरैको ज्यान जोगिन सक्छ ।  जेसुकै परेको खण्डमा परिवारनै अन्तिम सहारा हो है भन्ने मनोविज्ञानमा पार्न सक्नुपर्छ । कति छोराछोरीले फेरि आमाबाबुको सँधैको व्यस्तता,वेवास्ता र एकोहोरो पढाइको दवाव झेल्न नसकेर पनि बरु मरे आनन्दै हुन्छ भनेर पनि नराम्रो निर्णय लिन्छन् । कहिलेकांही राम्रै नियत राखेर भन्न खोजेपनि तरिका मिलाउन नसक्दा उल्टो असर गरिराखेको हुन्छ र अन्तिममा खराव नतिजा निस्केपछि बल्ल गल्तिको महसुस हुन्छ जसतर्फ सचेत रहँदै प्रेमपूर्वक व्यवहार गर्नुपर्छ । 

आर्थिक कारण —

पैसै कमाउन सकिएन यार भनेर गुनासो गर्नेहरु र भनेको जस्तो जागिर पाउन नसकेर विरक्तिनेहरु पाइला पाइलामा भेटिन्छन् ।। हुन त पैसाले कसैलाई पनि पुग्दैन तर कमसेकम एक हदको व्यवस्थित जिन्दगी जिउने सपना सबैको हुन्छ । विवाहितहरुको परिवारका लागि समेत थप आर्थिक भार सम्हाल्नुपर्ने कारणले धेरै कमाउनै पर्ने चाप नै हुन्छ । कतिको आफनै योग्यता नपुगेर त कतिको योग्यता अनुसारको काम नभेटेर बेचैनी बढछ । कतिले योग्य भएर पनि काम गरेर अनुसार तलव सुविधा नपाएर खिन्न हुन्छन्  । उसले न भएको जागिर छोडन सक्छ न थप कमाइको लागि देश छोडन सक्छ तर घर परिवारको कमाएरै ल्याउनुपर्ने दवाव एकनास झेलिराखेको हुन्छ । सबै मानिसको एकै आँट र स्वभाव हुन्न र गरिराखेकै छु त मेरो वाध्यता र मर्काचाहिं किन कसैले बुझदैनन बरु मरिदिन्छु भनेर पनि आत्महत्याको बाटो समाएका कैयन उदाहरण छन् । कतिको चाहिँ आफुसरहका साथीभाइ र आफन्तलेझै पैसा कमाउन नसकेर लघुताभाष महसुस गर्ने स्वभाव पनि हुन्छ । अरुसँग दाँजेर आफनो सफलता कदापि नाप्नु हूुँदैन । गर्न खोज्नुपर्छ र आफुले गरेको काम र कमाईबाट आफू खुशी छु भने त्यही ठूलो कुरा हो । पैसाका निम्ति व्यापार व्यवसाय गर्ने खुवी र हिम्मत पनि धेरैको हुँदैन र कतिले गरेपनि व्यापारकै ऋणधन हुनसक्छ । त्यसैले घरपरिवारका मानिसले कमाइ गर्न निस्केको मानिसको पनि समस्या र मनोविज्ञान बुझेर व्यवहार गरिदिनुपर्छ । 

सामाजिक कारण —

मानिस एकै कारणले मात्र आत्महत्या गरिहाल्छ भन्न सकिंदैन । कतिले आवेशमा आएर कतिले पुर्ण योजना बनाएरै गर्छन । कतिले पैसा कमाउन नसकेको भन्दै कतिले इज्जत कमाउन नसकेर कतिले प्रेम पाउन नसकेर कतिले इज्जतमा दाग लागेर संसारबाट विदा हुने कठिन निर्णय लिन्छन् । हाम्रो समाजमा जस्ले धन कमायो उसैको धेरै इज्जत हुन्छ उसैको जयजयकार हुन्छ । कस्ले कसरी कमायो सरोकार राख्दैन । भ«ष्टचारीनै भनेर प्रमाणित भएपनि सानका साथ समाजमै बसेको हुन्छ इमान्दार चाहिं सामान्य आवश्यकता पुरा गर्न अहोरात्र खटिएर एउटा कुनामा खुम्चिएर बसेको हुन्छ जस्ले वैराग्यता बढाउँछ । अचेल विवाहवेत्तर यौन सम्वन्ध र अनैतिक सम्वन्धको चुहावटले पनि कतिले साक्षात्कार गर्न नसक्दा आत्महत्याको मार्ग पहिल्याउँछन् । समाजमा व्याप्त उचनिच,र्दुव्यवहार,छुवाछुत सहन नसकी मर्नेहरु पनि यदाकदा भेटिन्छन् । 

आखिर जेजस्ता कारण भएपनि मर्ने निर्णय लिनु चानचुने कुरा हैन । कतिलाई गरि खान नसकेर त्यति जावो सहन नसकेर मरिहाल्ने कस्तो हुतिहारा रैछ भन्ने पनि लाग्ला । तर सोचौं त कसैलाई मर्ने मोडमा पुरयाउन जानी नजानी हामी धेरै जिम्मेवार भईराखेका हुन्छौं । समस्यामा सहारा भइदिएर ,पीर मर्का सुनिदिएर , उचित परामर्श र सकारात्मक बाटो देखाइदिएर सुन्दर जोगाइदिने क्षमता हामी सबै सँग छ । मर्न खोज्नेले पनि आफनो, परिवार र समाजभन्दा बाहिरको ठूलो र फराकिलो संसार देख्न सक्नुपर्छ । समस्याहरु आइरहन्छन लडिरहनुपर्छ तर यो जीवन र  संसार उत्तिकै सुन्दर पनि छ । बाँचुन्जेल त सबैले भोग्ने र सहने हिम्मत राख्नैपर्छ ।



No comments: