आहा ! अमेरिका , आत्था ! अमेरिका
-अविरल थापा
मेरिल्याण्डबाट भर्जिनियातर्फ जाँदै गर्दा मैले साथीलाई भनें नेपालको बाटोमा बाइक भएजस्तै यता त सबैको कारनै कार है ? उनले हत्त न पत्त जवाफ फर्काइन के तिमीले यो कार भन्ठानेको ?यो त नाम्लो हो नाम्लो? यो नभई यहाँ जिन्दगीको भारी बोक्नै सकिन्न । काम पाउन र काम भ्याउन यो नभई धरै छैन । तिम्रो लागि कार होला हाम्रो लागि त नाम्लो हो बुझयौ ? उनको कुरा सुनेर म अक्क न बक्क परें । अमेरिकाले गर्न खोज्ने सबैलाई काम दिएको छ सुविधा दिएको छ र मज्जाले कुदाएको छ । जो समयमा कुदयो अघि बढयो जो कुदेन लत्रिरहन्छ । यहाँ कुददा कुददै उमेर खिइएको धेरैले पत्तौनै पाउँदैनन् । कुदयो ,सुत्यो ,उठयो फेरि कुदयो । यसरी कुददा कुददा र घर जाउँला भन्दाभन्दै बर्षौं वित्छ । कत्तिको गएपछि आउने कागजात हुन्न । कत्तिको ग्रीनकार्ड नवनाई के जानु भन्ने हुँदोरैछ । कत्तिको केही लाख नवोकी के जानु भन्ने हुने रैछ ।समय कुर्दाकुदैै अबेर भएको पत्तो नहुनेरैछ । अलि व्यवस्थित हुन्छु र घरवार गर्छु भन्दाभन्दै धेरैलाई जवानी खिईंदैगएको हेक्का हुन्नरैछ ।कत्तिको पति अमेरिका पत्नी नेपाल कत्ति पत्नी अमेरिका पति नेपाल ।डाक्दैमा आउन नपाइन,े कागज बनाउँदा बनाउँदै दशकपनि लाग्दोरैछ । धेरैको एउटै कुरा थियो आउन त आइयो जान गार्हो रैछ ।घरि शीतल लाग्छ घरी पोल्छ अमेरिकाले !
हालै दुई महिना अमेरिका बसाईकोे क्रममा मैले दुई दशकदेखि नभेटेका सहपाठीहरुदेखि लिएर नेपाली सिनेमाका नायक एवं मित्र राजवल्लभ कोइराला लगायत १४ बर्षपछि नेपाल फर्कन लागेका काठमाडौंका फोटोग्राफर महेश्वर श्रेष्ठसँगै बस्ने र खाने मौका पाएँ ।सामान्य काम गरिरहेकादेखि सिलिकन भ्यालीमा र राष्ट्रसंघको उच्च ओहदामादेखि लिएर अमेरिकी संस्थाहरुको उच्च पदमा पुगेका नेपालीसम्म भलाकुसारी गर्न र नेपालीहरुको जिन्दगी नजिकबाट अवलोकन गर्न पाएँ । १५ राज्यहरुको भ्रमण ,कम्तीमा २५ देशका मिडियासम्वद्व विभिन्न तहका प्राध्यापकहरुदेखि लिएर हवाइट हाउसको अगाडिपटटिको पार्कमा ओबामाको छोरीलाई भेटन आएको भन्ने पागल प्रेमी लगायत कैयन अरु मानिसहरुसँग अन्तरक्रिया र सानिध्यमा पुग्ने अवसर पाएँ । एकै घरभित्र एउटै भान्सा प्रयोग गरेर हिन्दु ,मुस्लिम र यशु धर्म मान्ने फरक फरक देशका साथीहरुसँगै ६ हप्ता बस्ने दुर्लभ अवसर पनि जुर्यो । एक अर्काको कुरा सुन्ने ,फरकपनाको सम्मान गर्ने र समानताहरु साटने हो भने धर्म भन्ने कुरा समस्या हैन रहेछ भन्ने अनुभूत भयो । छालाको रंग कालो होस वा गोरो ,एसियाको होस वा अफ्रिकाको सबैको दिमागी क्षमता उत्तिकै सवल हुँदो रैछ । आम मानिसका जिन्दगीका समस्या र चाहनाहरु उस्तैनै हुँदारैछन । अमेरिकी भन्दैमा सवै राम्रा ,धनी र विदवान हुँदा रैनछन् र अफ्रिकी भन्दैमा सबै गँवार हुन्न रैछन भन्ने गम्भीर अनुभूति पनि भयो ।
एकदिन म नेपालीहरुको बनभोज कार्यक्रममा पनि गएँ । त्यहाँ चिनेका र धेरै अपरिचित नेपाली युवाहरुसँग रमाइलो भेट भयो ।तर अन्तरंग कुराकानीमा सबैको कथा उही हुन्थ्यो आएको यति भयो नेपाल गएको छैन। खासै केही गर्न सकिएको छैन । केही ठिकै छ राम्रो छ तर नेपालमा बसेजस्तो मज्जाचाहि छैन भन्थे । अमेरिकामा टन्न सुत्न पाउने र कुर्सीमा बसेर काम गर्न पाउने नेपाली जो छन् ती भाग्यमानी हुन् । एकजना साथीलाई सोधें कति काम गर्छौ सुत्नु पर्दैन ? उसले रमाईलो जवाफ फर्कायो जति सुत्नु नेपालमै सुतियो हेर यहाँ सुतेर के गर्ने हो ?घर आएपनि एक्लै बस्ने हो ,निद्रा लागिहाल्ने हैन । यहाँ बसे पैसा आउँछ त्यसको साटो मस्त थाकेर आयो,खायो, भुसुक्क निदायो । टन्टै साफ ।
नेपालमा बसेर अमेरिकाबारे देखेको सपना र अमेरिका पुगेपछि भोग्नुपर्ने विपनामा धेरै अन्तर छ । नेपालमा सपना देख्दादेख्दै अमेरिका पुग्ने जो कोही त्यहाँ पुगेपछि झल्याँस्स व्युँझिन्छ । लाखौं खर्च गरेर दलाल मार्फत अमेरिका पुग्ने सपना देख्दै हिडेका नेपालीहरु बाटोमा अलपत्र परेको समाचार पढिरहँदा धेरै त भ्रमनै बोकेर हिडेका होलान जस्तो लाग्छ । त्यहाँ पुगिनै हालेछन भनेपनि बाँकी यात्रा पनि सहजभने छैन । नेपालबाट जो कोही जाओस यदि कुनै पनि क्षेत्रमा व्यवसायिक सीप र दक्षता छैन भने नेपालमा पढेको प्रमाणपत्रको भरमा गतिलो काम पाउन खप्परमै लेखेर ल्याएको हुनपर्छ । नत्र भने ऐरे गएपनि भैरे गएपनि ग्याँस स्टेसन वा रेष्टुँरामा घन्टे काम थाल्नुको विकल्प हुँदैन । अमेरिकामा बसेपछि त्यहाँको नियम कानुन र व्यवस्थाभित्र नबसी कसैले धरै पाउँदैन । बाटोमा कतै ट्राफिक प्रहरी देखिन्नन तर केही गल्ती गरे हर्जानाको बिल घरमै आईपुग्छ । एकजना साथीले पिजा डेलिभरी गर्ने काम पाएकारैछन । एकदिन अलि चाँडोनै डेलिभरि गर्देछन् । भोलिपल्ट त घरमा पुलिसको प्रेमपत्र आईसकेछ । उता कानुन बलियो छ यता कानुनभन्दा मान्छे बलिया भए ,केही गल्ती गरे हामी सोर्सफोर्स लाउन फोन हान्न थालिहाल्छौं । अमेरिकामा हेर्दा सबै स्वतन्त्र छन् जस्तो लाग्छ तर सबैजना कतैबाट निगरानीमा छन् । अमेरिकाको सबैभन्दा राम्रो पक्ष भनेको आफूमा क्षमता हुने हो भने प्रगति गर्न कसैले रोक्न सक्दैन । जो कोही जहीं पुग्न सक्छ र जस्ले जतिपनि कमाउन सक्छ । लुकिछिपि केही गर्न कठीन छ तर कानुन मानेरै कर तिरेरै जो कोही धनी हुनसक्छ । उच्च पदमा पुग्नसक्छ ।
म पढ्न गएको ओहायो विश्वविद्यालयका डा. युसुफ ७ वर्षमै पूर्ण प्राध्यापक भएछन् यसपालादेखि तर उनले जागिर खानेबेलामा अन्तर्वाता लिएकी चाहिं अझै सहप्राध्यापकनै रैछिन् । त्यहाँ कस्ले पहिला जागिर खायो वा को उमेरमा वरिष्ठ हो भनेर हेरिन्न । कस्ले के काम गर्यो कति योगदान गर्यो हेरिन्छ र त्यसको मुल्याँकन हुन्छनै । अमेरिकाको सायद अन्य पश्चिमा राष्ट्रको पनि विशेषता के भने उनीहरु सम्बोधन गर्दा सोझै नाम भन्छन् । कुनै विशेषण जोड्न वा डा.साप भन्न रुचाउँदारैनछन् । उनीहरु विद्यार्थीहरुसँग दुरी बढाउनेहैन हार्दिकता बढाउनेरैछन । साथीजस्तै व्यवहार गर्ने ,हात मिलाउने अकंमाल गर्ने सँगै खाने नाच्ने । विश्वविद्यालयका प्राध्यापकहरु हप्तौंसम्म हाम्रो लागि गाडी चलाएर आफैं हिंडे ,ख्याल ठटटा गरे । केही हामीलाई सिकाए केही हामीवाट सिके । नेपालमा भए कोट लगाएर त्यसैत्यसै गम्केर यो भएन र त्यो भएन भनेर हुँकार र अहं देखाउनेनै धेरै हुन्छन् । हामी आवरणमा व्यक्तित्व र आडम्वर देखाउँछौं ।उनीहरु व्यवहारवादी र खुला दिमाग र मन भएको मैले पाएँ । हामीले धेरै शास्त्रीय मान्यताहरु भत्काउन सकेकाछैनौं । अहंको यति अग्लो पर्खाल लगाएका छौंकि कुनदिन आफैंलाई किचेर मार्छ । अमेरिकामै छँदा डल्लास लगायत अन्य ठाउँमा अनेक गोली काण्डहरु भए । हिलारी र ट्रम्पका उत्तेजक भाषण र वाकयुद्ध साथै प्रहरी र काला वर्णका अमेरिकीहरुबीच रहेको मनोवैज्ञानिक त्रास र समस्याहरुको बारेमा गम्भीर बहसहरु गर्यौ । अमेरिकामा केही राज्यवाहेक पिस्टोल गोली बोकेर हिडन पाईन्छ । राती सवारी जाँच्दा लाईसेन्स निकाल्न पर्स भएको ठाउँमा हात लैजाँदा यदि चालक काला जातिको छ भने प्रहरी तर्सिन्छ । त्यहीका काला वर्णका प्राध्यापकले एकदिन भने म त प्रहरीले गाडी रोक्न निर्देशन दिएर गाडीसम्म आईपुग्ने बेलासम्ममा मेरो कागजात र लाईसेन्स निकालीसक्छु ताकि कुनै समस्या नआओस् । एक अर्कासँगको अत्यन्तै डरलाग्दो मनोवैज्ञानिक त्रास हुँदोरैछ काला अमेरिकी र प्रहरीवीच जसलाई न्युनिकरण गर्न दुवैले विश्वासको वातावरण निर्माण गर्दै जानुपर्ने हुन्छ ।
फेरि आउँ नेपालीकै कुरा तर्फ । अमेरिकाको विभिन्न राज्यमा धेरथोर नेपालीहरु पुगेकाछन् । जहाँ जहाँ म पुगें नेपालीहरु संगठित त भएका तर विभिन्न जात,धर्म,समुदाय,पार्टी ,जिल्ला,पेशा वा यस्तै यस्तै आधारमा मात्र । न्युओर्कमा त नेपालीका ५० भन्दाधेरै संघसंस्थाहरुरैछन् । जहाँ गएपनि राजनीति गनुपर्ने संस्थाको अध्यक्ष हुनुपर्ने रोगले नेपालीहरु ग्रस्त छन् । एकमात्र नेपाली संगठन भएर देशको प्रतिनिधित्व गर्दा जुन इज्जत र कुनै माग राख्दा त्यहींपनि पैरवी गर्न सजिलोनै पथ्र्योहोला । एकले अर्काको कुरा काटने र खुटटा तान्ने प्रवृति जता गएपनि उस्तै रहेछ । गफ धेरै गर्ने तर काम कम गरेर हल्ला धेरै गर्ने रोग उतापनि उस्तै देखियो । एनआरएनमा सबै धनीहरुमात्र छैनन् तर यो कालान्तरमा कतै धनीहरुको वाइन क्लवमामात्र हुने त हैन भन्ने खतरा पनि देखियो ।
एकदिन ज्याक्सन हाइटमै नेपालीकै अफिसमा थिएँ । त्यहाँ काम लिएका आएका एक नेपाली बाबु थिए र साथमा उनको छोरो जो त्यस्तै ६ वर्ष जतिको हुँदो हो अलि चकचक गर्दैथियो । उसको बाबु बेलाबेलामा एकछिन नचली बस त भन्दैथियो । छोरो जतिभनेपनि चल्न छोडेन । अत्ति भएपछि बाबुले हकार्यो तँलाई नचली बस भनेको सुनिनस् । त्यो सुनेपछि छोरोले बाबुलाई अंग्रजीमा डायलग हान्यो डयाड यु आर नट माइ बोश । त्यो सुनेर बाबु कालोनिलो भयो र अक्मकाउँदै भन्यो तँलाई मोरा !यस्तो भन्ने भईस । यो अमेरिकी शिक्षाको ठाडो असर हो । बुझनेलाई ईशारा काफी छ । यो कुरा बेलुका अर्को साथीलाई सुनाउँदा उसले देखेको अर्को घटना पनि सुनायो । कुरा के रैछभने अमेरिकाको एउटा स्कूलमा नेपाली बच्चो पढदोरैछ । त्यही स्कूलमा नेपाली सेविका पनि काम गर्दिरैछिन । नेपाली बालक भन्ने थाहा पाएर केही कुरा नेपालीमै गरिछन् । उसले सायद खुशी भएर घरमा आमालाई भनेछ । तर भोलिपल्ट आमाले के गरिछन् थाहा छ ? उनले स्कूलको प्रशासनमा गएर आईन्दा आफनो छोरासँग नेपालीमा कुरा गर्न नभन्नु भनेर गुनासो दर्ता गराएर आईछन् । धन्न उनको जागिर गएनछ ! हामी कुन मानसिकता लिएर प्रवासमा बाँचिरहेका छौं भन्ने यो ज्वलन्त उदाहरण हो । यस्ता अनेक किस्सा अरुपनि धेरै सुन्न र देख्न पाईयो ।
नेपालमा रहेका बाबुआमा वा आफन्त नातागोता साथीभाइले बुझनुपर्ने कुरा के हो भने अमेरिकामा टपटप डलर टिप्ने हैन । अधिकांसले ८÷१० घन्टा उभिएर खलखली पसिना बगाएपछि बल्ल केही आर्जन हुन्छ । त्यसको एक तिहाई कर तिर्दै सकिन्छ । एक तिहाई घरभाडामा जान्छ । बाँकी रहेको एक तिहाईले आफनो अन्य किनमेल र बच्यो भने नेपालमा पनि पठाउनुपर्छ । यहाँ बसेर आइफोन ल्याइदे र ऊ ल्याईदे,यो पठाईदे भन्न सजिलो हुन्छ तर उता त्यति जोहो गर्न डडाल्नो अररिनेगरि घोटिनुपर्छ । लुगा त्यसै सफा हुन्छ ठाउँ राम्रै छ फेसबुकमा हप्ताको एकचोटि रमाइलो गरेको फोटो सुकिलो र मुहार हँसिलो देख्दैमा यहाँ बसी बसी भावनात्मक शोषण गर्नु अत्याचार हो । अझ काम गर्दै पढन र खर्च जुटाउन झनै कठिन छ । यताबाट कस्तो छ भनेर सोध्दा ठिकै छ राम्रै छ भन्नु वाध्यतानै हो किनकी त्यहाँ पुगिसकेपछि दुख छ भन्ने रहर कसैलाई हुँदैन । यतावाट परिवारको दवाव ,त्यहाँको कामको चाप र आर्जनले जीवनस्तर उकास्न नसकेर मानसिक चाप धान्न नसक्दा डिप्रेशनमा गएका र आत्महत्यानै गरेका कैयन घटना पनि छन् । बेलुका कामबाट फर्किदा कमैको घरमा सुख र दुख साटने मानिस हुन्छन् । कतिका त जोडीको भेट पनि शुक्रवार बेलुकामात्र हुन्छ । सुविधा छ सुख छ तर कमै मानिसहरु खुशी छन् ।
अर्को कुरा अमेरिकाको हरेक ठाउँको भ्रमणमा चाहे संचारगृह ,म्युजियम वा अन्य पर्यटकीय क्षेत्र किन नहोस् अन्तिममा निस्कने ढोकासँगै एउटा उपहार पसल हुन्थ्यो जहाँ त्यस स्थान विशेष झल्काउने उपहार सामग्रीहरु बेच्न राखिएको हुन्थ्यो र कसै न कसैले केही न केही किनिहाल्थ्यो । कुनै पनि चीजलाई कसरी बा्रन्डिगं गर्ने र व्यापार गर्नेभन्ने यो गज्जवको नमूना थियो । अर्को लागेको कुरा भनेको सडक संजाल र विद्युत आपूर्ति हुने हो भने धेरै विकास आफसेआफ हुनेरैछन् । हरेक प्रयोजनका लागि विद्युतीय मेसिनहरु छन र फराकिला बाटोहरुमा हरदम तीव्र गतिमा काममा कुदेका छन् । हामीजस्तो रेल आउने रे भनेको सुन्दै रमाइलो लाग्ने मानिसलाई न्युओर्कको जमिनमुनी १०० वर्ष भन्दा अगाडि दुई तल्ले रेलको संजाल बनेको थियो भन्दा साँच्चै होला र भनेजस्तो लाग्छ ।हाम्रा अधिकांस नेताले विदेश घुमेर यो देखेकाछन् तीनलाई फर्कदा आफनो विमानस्थलकै हविगत देखेर लाज लाग्नुपर्ने हो । फालाफाल जलश्रोतबाट विजुली उत्पादन गर्नैपर्छ भन्ने चेत पलाउनुपर्ने हो । कम्तीमा काभ्रे,धादिङ र हेटौंडातर्फ रेल वा एक घन्टाभित्र राजधानी आइपुग्ने ग्यारेन्टी भएको र्दुत सार्वजनिक यातायातको विकास गर्न सके काठमाडौंमा कोही गुम्सिएर बस्दैनथ्यो होला ,सहरीकरण विस्तार हुन्थ्यो। चार आना काठमाडौं किन्न कसैले जिन्दगीभरिको पसिना र तानाबाना बुन्दैनथियो होला । अरबौं तलवभत्ता सकेर यतिपनि गर्ने ल्याकत इच्छाशक्ति नभएका नेपालका नीति निर्माता र राजनीतिज्ञ भनाउँदाहरु वास्तवमै अपराधी हुन भन्ने वोध पटकपटक भईरहयो ।
यो देशमा टिक्न, बिक्न र उचित स्थान पाउन नसकेर जो जाँदै हुनुहुन्छ आवश्यक तयारी र सीप सिकेर जानु उचित हुन्छ । उतै पढेर अघि बढनेको भविष्य राम्रै छ । तर यहाँ रामै्र काम छँदाछँदै भएको सम्पत्ति बेचेर जानेहरु त्यहाँ पुगी शून्य धरातलबाट काम सुरुगर्नुपर्दा खङरङग पर्न सक्छन् । दलाललाई लाखौं खुवाएर जानखोज्नेहरुले त्यो पैसाले यहीं केही गरे चाँडै मालिक बन्न सकिनेछ । घुम्न जानेलाई त जे देखेपनि नयाँ र रमाईलो लाग्नेनै छ ,एउटै भ्रमणमा पूर्विय र पश्चिमा तटमा पुग्न सके फरक अनुभूति हुनेछ । फर्केर अनेक नयाँ काम गर्ने सोच आउनेछ। कसरी सिस्टममा देश चल्छ र जहाँपनि डेविट र के्रडिट कार्ड घोटेर देश कसरी चल्छ हेर्न चाहिं आप्रवासीहरुले भरिएको अमेरिका नमूना मुलुकनै हो । अमेरिकामा कर्म गरेर जति डलर कमाए पनि पाइन्छ हरेक हप्ता खुल्ने चिठ्ठा किनेर भाग्य जाँच्न पनि पाइन्छ ।
एउटा कुराचाहिं बसुन्जेल रोचक लागिरहयो उता भएकाहरु यहाँसम्म आएर पनि फर्कने हो र भनेर पीर गर्थे यता भएकाहरु पनि उतै बस्ने हो र ! भनेर पीर गरिरहन्थे ।
आहा !अमेरिका । आत्था !अमेरिका ।



No comments:
Post a Comment