म तिमीलाई प्रेम गर्छु!
–अविरल थापा
प्रिय मनमाया,
तिमी जस्तै यो संसारका करोडौं आत्माहरु प्रेम पाउन तड्पिरहेका छन् र भविष्यमा पनि तड्पिनेनै छन् । मान्छेलाई किन अरुको माया लाग्छ ? मान्छे किन अर्कोले प्रेम गरेन भनेर विरक्तिएर हिंडछ ?के मान्छे अरुको प्रेम विना एक्लै जिउन सक्दैन ?मान्छेले आफैले आफैलाई गर्नुपर्ने धेरै प्रश्नहरु यो संसारमा आदिम कालदेखि जस्ताको त्यस्तै छ । फेरि यो संसारका अधिकांश प्रेमीहरुलाई आफनो प्रेममा शंका छ,आफनो प्रेमीमा शंका छ । तर प्रेम गरेको नाटक गरेर र प्रेम भएको भ्रम पालेर जीवन बिताउनु सबै प्रेमीहरुको नियति पनि हो ।
तिमीले जस्तै हरेक प्रेमीहरुले बारम्बार “म तिमीलाई प्रेम गर्छु”भनिरहन्छन् र तिमीले मलाई गरेजस्तै प्रत्येक प्रेमीले “के तिमी पनि मलाई उत्तिकै प्रेम गर्छौ” भनेर प्रश्न गरिरहन्छन् । सोध्न सजिलो छ तर यो एउटा जटिल प्रश्न हो मनमाया । मुखले जति माया गर्छु भनेपनि ,नौरंगी शव्दहरुले सजाएपनि यदि तिमीलाई मायाको आभाष भएकै छैन भने तिम्रो प्रेम त पलाँसको फुल जस्तो भयो हेर्दा सुन्दर तर वास्नाविहीन ।फेरि फिर्ता पाउँछु भन्ने आशमा तिमी पनि अरुलाई प्रेम दिईराखेकी छौ भने त्यो पनि त कहाँ प्रेम भयो र ? हामी सबै प्रेम कम र व्यापार बढी गर्छौं ।
मनमाया, तिमीलाई जस्तै यहाँ हरेक प्रेमीहरुको मनमा आफ्नो प्रेम टुट्ला भन्ने अव्यक्त भय बाँचिरहेको हुन्छ । हाम्रो प्रेम कति कमजोर छ है ! जो छुट्ला र टुट्ला भन्ने आशंका हरदिन पालेरै पनि प्रेम गर्न अभिसप्त छौं । त्यसैगरि अरुले प्रेममा भाँजो हाल्देलान् भन्ने डर पनि उत्तिकै छ । वास्तवमा भन्ने हो भने यहाँ जो आफूलाईे प्रेमी भन्छन् उनीहरु विश्वस्त नै छैनन् कि उनीहरु एक अर्कालाई साँच्चैको प्रेम गर्छन् भन्ने कुरामा । प्रेम गर्ने कुरा हो कि प्रेम हुने कुरा हो धेरैले छुटयाउन सकेका छैनन् । बजारमा प्रेम किन्न र प्रेमी खोज्दै हिंडने दुखी आत्माहरु यत्रतत्र भेटिन्छन् । प्रेमी जोगाउन सक्नु यो वैश्य युगको ठूलो चुनौती हो र जोगाउन धेरैलाई धौ धौ छ । प्रेममा परेको मानिसले त स्वतन्त्रताको अनुभव गर्नुपर्ने हो । परमानन्दको अनुभूति गर्नुपर्ने हो तर किन हामीलाई प्रेममा परेपछि पिंजडामा परेको जस्तो लाग्छ । किन सदैव आफू कसैको निगरानीमा छु ,कसैको नियन्त्रणमा छु जस्तो लाग्छ । केही समय वा केही दिन आफ्नो प्रेमी ओझेल पर्नासाथ किन हाम्रो प्रेम वा विश्वास एकैचोटि डगमगाउन थाल्छ । किन शंका वा प्रश्न मनमा उव्जिन्छन् कि कतै प्रेम सक्कियो वा प्रेमी अन्तै सल्कियो कि भनेर । हामी प्रेमी कम दास वा दासी बढी बनाउन खोज्छौं । प्रेम दिएको वहानामा स्वार्थको परिपूर्ति गर्छौं त्यसैले हिसावकिताव अलिकति तलमाथि हुनासाथ हाम्रो प्रेमको जग हल्लिन्छ ।
हामी सबै प्रेम दिन हैन लिन मात्र खोज्छौं । आफु दिन सक्दैनौं तर अरुले माया गरेन प्रेम दिएन भनेर गुनासो चाहिं बारम्बार गरिरहन्छौं । हामी सबै प्रेमका एकलकाटे भोको छौं । हामी सबैलाई प्रेम र प्रेमी चाहिएको छ तर आफू अनुकुल आफ्नो काबुभित्रको ।
तिमी बारबार सोध्छयौ “ तिमीलाई मेरो माया कति लाग्छ भनन?” सुन मनमाया,मैले हिसावकिताव गरेर कहिल्यै तिमीलाई माया गरिन र मुख फोरेर आजसम्म तिमीलाई माया गर्छु पनि भनिन तर मैले माया गरें या गरिन त्यो तिमीले अनुभूत गर्ने कुरा हो । मलाई अनेक विशेषण र अलंकार हालेर र कुनै यन्त्र वा फित्ताले नापि नापि माया गर्न कहिल्यै आएन । म हिसावमा सार्है कमजोर छु त्यसैले कति माया गर्छु भनेर ठयाक्कै कहिल्यै भन्नै सक्दिन । तिम्रो अपेक्षाजति मैले माया दिन सकेकोजस्तो लाग्दैन भने माफ गर्नु ।मिठा र चिल्ला कुरा गरि वायुपंखी सपना देखाई देखावटी प्रेमको चास्नीमा तिमीलाई डुवाउन मलाई कहिल्यै मन लागेन । तिम्रा पनि कमजोरीहरु छन् र मेरा पनि जसलाई स्विकारेर र सकेको सुधार गर्र्र्दै अघि बढनुको विकल्प छैन । प्रेमको गन्तव्य विवाह हो भनेर मैले कहिल्यै लिईन र लिनेपनि छैन न त विवाह प्रेमको सुरुवात नै हो । विवाह त सामाजिक कर्मकाण्ड सिवाय केही हैन । म चाहन्छु यदि हामी विच प्रेम छ भने त्यो सँधै बाँच्नेछ चाहे हाम्रो अरु कसैसँग विवाह किन नहोस् । म कहिल्यै तिमीलाई दोष दिनेछैन र तिम्रा बारे अफवाह फैलाएर हिंडने छैन ।
मनमाया जुनदिन मलाई लागेको थियो कि हामी बिच प्रेम भयो त्यही दिन मैले मुक्तिको महसुस गरेको थिएँ । भौतिक रुपले तिमी सँधै साथै भएपनि नभएपनि तिम्रो प्रेमको अमृत मेरो हृदयबाट रसाईरहन्छ र त्यही पिएर म उर्जावान भएको अनुभव गरिरहन्छु । तिम्रो कल्पनामा रमेरै यो जुनी बिताउन सक्छु जस्तो लाग्छ ।प्रेम गर्छु भन्नेहरु आँखा अगाडि आईरहन्छन् र अल्झाईरहन्छन् र बेलाबखत पन्छाउन मलाई समय लाग्छ तर म बारबार तिमीतर्फ नै आईरहेको हुन्छु । म आईपुग्न केही बेर लाग्दैमा तिमी आत्तिन्छयौ । मलाई लाग्छ तिम्रो त्यो अत्ताईमै प्रेम छ ।
तिमीलाई मैले स्वतन्त्र छोडिदिएको छु । जति बेला मन लाग्छ आऊ,बस्न मन लाग्छ बस,जान मन लाग्छ जाऊ मेरो हृदयको द्वार जुग जुगसम्म तिम्रो लागि उघारै रहनेछ । न पाउने अभिप्सा छ न गुमाउने भय छ किनकि म तिमीलाई प्रेम गर्छु ।





