Sunday, January 19, 2020

पत्रकारिता कि पार्टीकारिता ?









पत्रकारिता कि पार्टीकारिता ?
—अविरल थापा

यति बेला नयाँ नेतृत्वका लागि नेपाल पत्रकार महासंघको आसन्न चुनावले पत्रकारहरुको चहलपहल निकै बढेको देखिन्छ । विभिन्न गुट उपगुट देखि लिएर को पत्रकार कुन पार्टीको , कसलाई उठाउने र कसलाई जिताउने भन्ने कसरत खुलेआम र पृष्ठभूमिमा पनि बढदैगएको छ । नेपालको पत्रकारिता जगतमा सबैभन्दा निराशाजनक र उराठ लाग्ने दृश्य नै यही हो ।
पत्रकारिताको सिद्धान्त र धर्मले भन्छ ,पत्रकार भनेको कुनै राजनीतिक दल ,व्यक्ति विशेष वा कुनै समूहमा लागेको त के अलिकति ढल्केको पनि देखिनुु हुँदैन । तर हाम्रो बिडम्बना के हो भने यहाँ खुलेआम रुपमा प्रेस चौतारी भनेको नेकपा एमाले नजिक, नेपाल प्रेस युनियन भनेको नेपाली कंग्रेस नजिक र नेपाल प्रेस सेन्टर भनेको माओवादी केन्द्र नजिक भनेर गर्वका साथ छाती ठोक्ने गरिन्छ । यसरी पार्टीको भातृसंगठन झै आवद्ध हुने जो कसैलाई आफू पत्रकार हँ भन्न पनि  लाज लाग्नुपर्ने हो । पत्रकारिताको आडमा केही राजनीतिक नियुक्ती , केही आर्थिक लाभ र केही थान मन्त्रीका प्रेस सल्लाहकार पडकाउनको लागि आफनो धर्म र विवेकको तिलाञ्जली दिनसक्नेहरु बाट नेपाली पत्रकारिता जगतले के आशा गर्ने ? निष्ठाको पत्रकारिता गरिरहेका श्रमजीवि पत्रकारको पाप नलागोस् तर बाँकीका क्रियाकलाप र दौडधुप हेर्दा ती पत्रकार हुन कि राजनीतिक दलका भजनमण्डली हुन प्रष्ट हुन्छ ।
जो सुकै पत्रकार कुनै पनि दलको कार्यक्रम वा जुलुसमा आफनो कामको सिलसिलामा सहभागी हुन सक्छ तर आफैं मुर्दावाद र जिन्दावाद भन्न थाल्छ भने ,कुम हल्लाउन र मुठ्ठी बटार्न थाल्छ भने ,दलका झण्डा बोक्न र आफैं उफ्रिन थाल्छ भने ऊ छद्म भेषको कार्यकर्ता सिवाय केही हैन । पत्रकारिता छोडेर राजनीतिमा र राजनीति छोडेर पत्रकारितामा लाग्न पाईन्छ तर पत्रकारिता गर्दागर्दै हनुमान लीला देखाउने ढेडुहरुलाई के भन्ने ?आफूलाई आस्था लाग्ने राजनीतिक दललाई भोट हाल्ने र व्यक्तिगतरुपमा समर्थन गर्ने हक सबैमा सुरक्षित छ तर भोट नै माग्दै हिंडने र आधिकारिक रुपमा पत्रकारिता नछोडि दलको उम्मेदवार नै हुने दुस्साहस कहाँबाट प्राप्त हुन्छ ?  कुनै दलले आफनो मुखपत्र निकाल्नु र कसैले अखवार निकाल्नु एकै कुरा हो र ?कसैको नाम नतोकौं तर हालसालै सम्पन्न स्थानीय चुनावमा सामाजिक संजाललाई आधार मान्ने हो भने वरिष्ठ पत्रकार भन्नेहरुले समेत आफनो धोती फुस्केको पत्तो पाएनन् । नेपालमा अदालत भित्र न्यायाधीशका मात्र घोषित संगठन बन्न बाँकी होला नभए हरेक क्षेत्र दल विशेषका सण्डमुण्डहरुको घेराबन्दीमा कैद छन् ।



नेपालको प्रजातान्त्रिक आन्दोलन र राष्ट्रियताको सवालमा यहाँका मिडिया र पत्रकारले जनतालाई र दलकै नेतालाई पनि सूसुचित गर्न र तानाशाही प्रवृति विरुद्ध सतर्क हुन पटकपटक सचेत र साथ दिएकै हुन् । तर यदि कतै सो भूमिका निभाउँदा मिडिया र पत्रकारको कुम दलका नेता वा अन्य तत्वसँग कुम जोडिन पुगेको थियो र कालान्तरमा अंकमाल र उठबस सम्मै पुगेर एउटै थालको जुठोसम्म खान थालिएको हो भने सुन पानी छर्केर आफूलाई अविलम्बै चोख्याउन अबेर गर्नुहुँदैन ।
न्ेपाल पत्रकार महासंघले खुट्टा दर्हो टेकेर भन्न सक्नुपर्यो दलका भातृसंगठनको रुपमा गोलबद्ध भएका कथित पत्रकारहरुलाई आइन्दा मान्यता दिईनेछैन । महासंघभित्रै यो समूहका यति र यो गुटका यतिलाई यो पद दिने भन्ने चाँजोपाँजो मिलाई निर्वाचनको ढोंग मात्र रचेर सर्वसम्मतिमा नेतृत्वमा पुर्याउने कोटा प्रणालीकोे अन्त्य नभएसम्म कसैले पदमा पुगेर माखो मार्लान भन्ने आशा गर्नु नै बेकार हो । यस्तै नियति सँधै दाहोरिईरहने हो भने महासंघ पनि दलहरुले झुन्डयाएको बुख्याँचा सिवाय केही हुनेछैन । न्यूनतम पारिश्रमिक र सुविधा लागु गराउन एकजुट भई मिडियाका मालिकहरुलाई बाध्य बनाउन नसक्ने, हरेक श्रमजीवि पत्रकारको बिमा अनिवार्य गराउन नसक्ने र पत्रकारिताको आडमा भईरहेका मोलमोलाई र अन्य तिकडम मुकदर्शक भएर हेर्ने तर नियन्त्रण गराउन नसक्ने हो भने महासंघ खारेज गरिदिए पनि खासै फरक पर्दैन ।
  नेपालको कानुन अनुसार जो कसैले प्रक्रिया पुरयाएर मिडिया खोल्न पाउँछ तर कुन भूगोलमा कति मिडिया भए पुग्ने हो ?कति पत्रकार भए पुग्ने हो ?पत्रकारको न्यूनतम पढाई कति हुनुपर्ने ?मिडियाका मालिकहरुले के के मापदण्ड पुरा गर्नुपर्ने हो राज्यले त्यसको प्रष्ट नीति बनाई त्यसको कार्यान्वयन र अनुगमन गर्न गराउन सक्नुपर्छ । हैन भने मिडिया र पत्रकारको संख्या विकासे च्याउ जस्तै बढदै जाने खतरा उत्पन्न हुन थालिसक्यो । एकातिर मिडियामा लागेर हातमुख जोर्न धाउधाउ पर्ने पत्रकार छन् भने अर्कोतिर नाम र काम नै नसुनिएका नदेखिएका पत्रकारका हालिमुहाली र हाइहाइ छ । के देखेर वा के पाएर बजारको आयतन भन्दा बढी मिडिया र पत्रकार टिकिराखेका छन् यसको गम्भीर अध्ययन र अनुसन्धान हुनै पर्छ । नभए अनावश्यक रुपमा मौलाएका बन्सोहरुले मुख्य खेती नै सखाप पार्ने जोखिम हरदम रहिरन्छ ।





 मिडियालाई नियन्त्रण गर्ने भन्न खोजेको हैन तर विकृति बढेको थाहा पाए पछि निगरानी चाहिं राख्नैपर्छ । नेपाल पत्रकार महासंघले यी सबै प्रक्रियाहरुमा आफ्नो उपस्थित र भूमिका कहाँ र कसरी खेल्ने हो प्रष्ट हुन जरुरी छ । हैन भए केही हजार पत्रकार गोलबद्ध गरी आवधिक रुपमा बाँडीचुँडी नेतृत्व फेर्दै वर्षौंसम्म पुरानै नारा उछालिईरहनु र फलाकिरहनुको कुनै तुक छैन । महासंघको चुनावका बखत नेतृत्व चयनका लागि शीर्ष राजनीतिक तहबाटै दिईने दवाव र प्रलोभन कसैबाट छिपेको कुरा हैन । पत्रकारिताको धर्म र मर्म बुझेकै पत्रकार हो भने उसले हिम्मत गरेर भन्न सक्नुपर्यो “म कसैको कठपुतली र दास बन्न आएको हैन मलाई जित र हारसँग कुनै सरोकार पनि छैन ।” नभए दलकै ईशारामा लम्पसार परेर नाचिरहने र व्यवसायिक पत्रकारिताको ढोंग रच्नेहरुले कतिबेला पत्रकारिताको हनुमान चालिसा लेख्छन् देख्न धेरै कुर्न नपर्ला ।
 वर्षौंसम्म पत्रकारिता गरेर वरिष्ठको पगरी गुथ्नेहरु र विश्वविद्यालयका अध्यापक अध्येताहरुले पत्रकारितामा के सही र के गलत अभ्यास भईरहेका छन् सशक्त रुपमा झकझकाउन र बहस गराउन सक्नुपर्यो । चिया पसल र भट्टीमा बसेर बर्बादै भो खत्तमै भो भनेर गनगन र सत्तो सराप गर्नुको साटो आवश्यक परेको ठाउँमा हस्तक्षेपकारी र सिर्जनात्मक सल्लाहसुझाव दिनसक्नुपर्यो । पत्रकारिताको सिद्धान्त र मान्यता पढेर पत्रकार भएकाहरुले गलत बाटो जानी नजानी हिंडिरहेका साथीहरुलाई मार्गदर्शन र दिशानिर्देश गर्ने साहस राख्नपर्यो । पत्रकारको नाममा कुनै दल वा कसैका हुक्के ,दैले,धुपौरे ,झोले,टपरे,अरौटे भरौटे भएकाहरुलाई ऐनामा अनुहार हेर्दा हिनतावोध हुने स्थित उत्पन्न हुनपर्यो । कसैलाई उचालेर र पछारेर ठूलै पत्रकार भएँ भन्ने भ्रम पाल्नेहरुलाई बागमतीको मुहानमै लगेर पालैपालो नुहाउनुपर्यो ।
 राजनीतिले सबैलाई सक्कायो पनि भन्ने तर आफैं त्यसको मतियार र हतियार बन्ने काम हरेक पत्रकार र पत्रकारिता जगतले नै अविलम्ब त्याग्न सक्नुपर्छ । दुनियाँका पीर मर्का बुझेर लेख्न पनि सक्ने तर आफनो मालिकसँग चुँ बोल्न नसकेर किन चाउरिस् मरिच आफ्नै रागले भन्नुपर्ने हालतबाट पत्रकार माथि नउठेसम्म वृतिविकास हुन सक्दैन । गर्भमै जाने बुझेर कोही आएको हुँदैन तर दैलो देखिसकेपछि हगिरहने मुर्खता कसैले गर्न हुँदैन । आज काखमा राखेर सुम्सुम्याउनेहरुले कुन दिन आफनै कोखामा रोपेर आन्द्राभुँडी निकाल्छन् भर हुँदैन । हरेक पत्रकारलाई  ढुंगो र शालिग्राम चिन्ने सद्बुद्धि आओस् । नेपाल पत्रकार महासंघले कुनै वाद र रंगमा नलत्पतिएको सफेद नेता पाओस् ।
अहिलेलाई यत्ति । 

(प्रिन्सिपल, पोलिगन कलेज अफ मास कम्युनिकेशन एण्ड जर्नलिजम,बबरमहल ,काठमाडौं)